| आइतवार, कार्तिक २९, २०८३

आलुको बजारीकरण तथा प्रबद्र्धनका लागि गुम्दामा आलु मेला हुने

गोरखाको धार्चे गाउँपालिका ५ गुम्दामा उत्पादित आलुको बजारीकरण तथा प्रबद्र्धनका लागि आलु मेला हुने भएको छ ।
थामरा धार्चे युवा क्लब र आलु उत्पादक कृषक समुहको संयुक्त आयोजनामा भदौ एक गतेदेखि पाँच गतेसम्म आलु मेला हुने भएको हो ।
गाउँको मुख्य बाली आलुको बजारीकरणका लागि मेला आयोजना गरिएको वडा अध्यक्ष तुलबहादुर गुरुङले बताए । ‘गाउँमा बाह्रैमास आलु खेति हुन्छ’, उनले भने, ‘गुम्दा चिसो ठाउँ भएकाले यहाँको आलु स्वादिलो पनि छ । यहाँको आलु उत्पादन बढाएर बजारीकरण गर्न सके आर्थिक रुपमा पनि गाउँलेलाई फाईदा पुग्छ । त्यसैले मेला मार्फत आलुको बजारीकरण खोजेका छौं ।’
गुम्दामा तीनसय घरधुरी छन् ।
प्रत्येक घरले बार्षिक कम्तिमा २५ टन आलु उत्पादन गर्ने वडा अध्यक्ष गुरुङले जानकारी दिए । आलु भण्डारणका लागि गाउँमा सय टन क्षमताको कोल्ड स्टोर पनि छ । स्थानीय किसानले उत्पादन गरेको आलु धार्चे गाउँपालिका सहित बारपाक सुलिकोट गाउँपालिका, गोरखा बजार, काठमाण्डौ पोखरा लगायतका शहरमा पनि निर्यात हुदै आएको गाउँलेले बताएका छन् । मेला मार्फत स्थानीय कला, संस्कृति, पर्यटन र कृषिको विकास गर्ने उदेश्य पनि रहेको आयोजकले जनाएको छ ।
पाँचदिन मेलाको अबसरमा गाउँपालिकाको क्लब स्तरीय महिला तथा पुरुषबीच छुट्टाछुट्टै भलिबल प्रतियोगिता हुने भएको छ । मेलामा आलु खाने प्रतियोगिता, गुम्दाको आलु प्रदर्शनी, म्यूजिकल चेयर, स्नोकर र पुल प्रतियोगिता पनि गरिने भएको छ । प्रतियोगितामा विजेतालाई पुरस्कारको पनि ब्यबस्था छ । मेला खर्च गर्न सात लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।
वडा कार्यालयले तिन लाख रुपैयाँ विनियोजन गरेको र अन्य रकम विभिन्न ब्यक्ति तथा संघसंस्थासँग जुटाईने वडा अध्यक्ष गुरुङले बताए । थामरा धार्चे युवा क्लबको प्राङ्गणमा हुने मेलाको उद्घाटन गण्डकी प्रदेशका भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले गर्ने तय भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्