| आइतवार, कार्तिक २९, २०८३

महिला समूहद्वारा लापुमा जुवातास बन्द

दरौंदी ः धार्चे गाउँपालिका ७ लापुका महिलाहरुले गाउँमा जुवातास खेल्न रोक लगाएका छन् । पुरुषहरु जुवातासमा ब्यस्त हुन थालेपछि महिलाहरुले चाडबाड बाहेक अरु समयमा जुवातास खेल्न रोक लगाएका हुन् । स्वास्थ्य सुनौलो विहानी आमा समुहको बिहिबार बसेको बैठकले चाडबाड बाहेक अरु समयमा जुवातास खेल्न रोक लगाउने निर्णय गरेको स्थानीय विरवल तमुले जानकारी दिए ।
‘बर्षायाममा पानी परेपछि यहाँ काम हुँदैन’ समुहकी अध्यक्ष मिना गुरुङले भनिन् ‘गाउँका युवाहरु फुर्सदिलो हुँदा जुवातास खेलेर बस्छन् । यसले बानी पनि बस्छ, पैसाको पनि नोक्सान त्यसैले दिदिबहीनीको सल्लाहमा यस्तो निर्णय गरेका हौं ।’
यस विषयमा समुहले गाउँमा निरन्तर अनुगमन गर्ने उनको भनाई छ । ‘जुवा खेल्छ कि नाई भनेर हामी निरन्तर अनुगमन गर्छौ’ उनले भनिन् ‘टोल टोलमा अनुगमन गर्न प्रतिनिधी नै खटाएका छौं ।’
निर्णय उल्लघंन गर्नेलाई जरिवाना लगाउने महिला समुहले जनाएको छ । समुहको निर्णय अनुसार चाडबाड बाहेक अन्य समयमा जुवातास खेलाउने घरधनीलाई दश हजार रुपैयाँ र खेल्नेलाई पाचँ हजार रुपैयाँ जरिवाना गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्