
तापक्रम बढेर चौपट : दक्षिण एसियाली मुलुक संकटमा
काठमाडौं । मुलुकभर असह्य गर्मी भइरहेका बेला जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै पनि मनसुन निष्क्रिय रहेको जनाएको छ । महाशाखाका अनुसार न्यूनचापीय रेखा दक्षिणबाट उत्तर अथवा नेपालतिर नआउँदा मनसुनी वर्षा सक्रिय हुन नसकेको मौसमविद समिर श्रेष्ठले बताए ।
मनसुन निष्क्रिय भएसँगै देशभर तापक्रम बढेको छ । काठमाडौं उपत्यकामा ३० वर्ष अघिको गर्मी दोहोरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो जुलाई महिनाको रकर्डले ३० वर्ष अघिको गर्मीकै रेकर्ड छोएको छ ।
यो वर्षको जुलाई १ मा काठमाडौंको अधिकतम तापक्रम ३२ दशमलव ६ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ । यसअघि १९८९ को जुलाई २२ मा काठमाडौंको तापक्रम ३२ दशमलव ७ डिग्री सेल्सियस रेकर्ड भएको थियो । मनसुन निष्क्रिय रहनुको कारण के हो ? भनी हामीले मौसमविद समिर श्रेष्ठलाई सोधेका छौँ ।
दक्षिण एसियाली मुलुक संकटमा
यसैबीच, एक अध्ययनले नेपालसहित दक्षिण एसियाली मुलुकको तापक्रम चिन्ता गर्नु पर्ने गरी बढिरहेको देखाएको छ । मासाचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजी –एमआइटी)ले गरेको अनुसन्धानले नोपल, भारतका विभिन्न भू–भाग, पाकिस्तान, बंगलादेश र श्रीलंकामा बढिरहेको तापक्रमका कारण यो शताब्दी अन्त्यसम्म दक्षिण एसियाका कतिपय ठाउँ मानव जीवनका लागि प्रतिकूल हुने औल्याएको छ ।
यो वर्ष स्पेन, चीन, नेपाल र जिम्बाबेसहितका कतिपय मुलुकमा तातो हावा चलेको छ । यो अवस्था भारतमा अझ बढी घातक देखिएको छ । भारतमा तातो हावाका कारण यो पल्ट सय जनाको मृत्यु भएको छ । यो अवस्था आगामी दिनमा अझै चुनौतीपूर्ण बन्दै जाने र त्यसले धरै भू–भागमा मानवीय संकट निम्त्याउन सक्ने अनुमान गरिएको छ । एमआइटीका विज्ञले कार्वन उत्सर्जन घटाउन नसक्दा विश्वव्यापी तापक्रम बढ्दै जाने र यसले भारतसहित दक्षिण एसियामा मानव जीवन कठिन हुँदै जाने उल्लेख गरेका छन् ।




