
जहाँ बच्चा सुताउन रक्सी खुवाइन्छ : शिव उप्रेती
शिव उप्रेती, गोरखा ः काखे बच्चा रोएर हैरान पारे भने फुल्याउने अनेकन उपायहरु छन् । राती सुत्न नमानेर दुख दिए भने पनि बालसुलभ अनेकन गतिबिधिहरु छन् । गोरखाको चुमनुब्री गाउँपालिका ४ प्रोक र ५ को बिही गाउँमा बच्चा रोए, सुत्न पनि मानेन् भने जुन उपाय अपनाइन्छ, त्यो अनौठो छ ।
‘काखे बच्चा रोएर हैरान पा¥यो भने, राती नसुतेर आमाबालाई दुख दियो भने रक्सी खुवाउने गर्दा रहेछन्’, बिही स्वास्थ्य चौकीका स्वास्थ्य सहायक सुनील सुनार भन्छन्, ‘बच्चा जन्मने बित्तिकै स्वागत गर्न सगुन भनेर मुखमा रक्सी चटाइदिने गर्छन् । सुत्केरी र गर्भवती महिलालाई पनि रक्सी खुवाउने चलन छ । रक्सी खुवाउँदा नवजात शिशु र सुत्केरी मरेको घटना पनि छ ।’ रक्सी लागेर बच्चा लठ्ठ भएपछि फुलिने र निदाउने मान्ने चलन रहेको उनले बताए ।
सुत्केरी महिलालाई पनि सगुनस्वरुप रक्सी खुवाउने चलन रहेको स्थानीय नुर्बु गुरुङले जानकारी दिए । ‘सुत्केरीलाई बिहान एक गिलाँस, बेलुका एक गिलास रक्सी खुवाउने चलन छ’, गुरुङले भने, ‘सुत्केरी हुँदाको पीडा र ज्यान दुखेको निको गर्छ भनेर होला सायद । सुत्केरीलाई भेट्न आउनेले पनि रक्सी उपाहार दिने चलन छ ।’ सुत्केरीलाई रक्सी खुवाउने चलन आफ्नो गाउँमा पनि रहेको चुमनुब्री गाउँपालिका ६ चुम्चेतका गोपाल लामाले बताए । ‘पहिला पहिला त बच्चालाई पनि खुवाउने चलन थियो तर अहिले हटिसक्यो’, उनले भने, ‘सुत्केरीलाईचाहिँ अहिले पनि खुवाउँछन् । रक्सीले दुखाइ कम हुन्छ भन्ने चलन छ ।’
बिरामी हुँदा समेत रक्सी खुवाउने चलन रहेको बिही स्वास्थ्य चौकीका स्वास्थ्य सहायक सुनार बताउँछन् । ‘बिरामी भेट्न पनि आफन्तहरु रक्सी लिएर आउँछन्’, उनले भने, ‘रक्सीको बिकृति धेरै छ । हामीले रक्सी खानु हुदैन भन्दा कोही मान्दैनन् । कसरी हट्छ र खै ?’ रक्सीको बिकृति धेरै रहेको उनले गुनासो गरे ।




