
दीगो विकास कार्यक्रम लागु गर्न दातृ संस्थालाई आरुघाट गाँउपालिकाको आग्रह
दरौंदी : आरुघाट गाँउपालिकाका अध्यक्ष पुर्ण बहादुर दाहालले पुनर्निर्माणसंगै जिविकोपार्जन तथा दिगो विकास सम्बन्धी कार्यक्रम सञ्चालनका लागि दातृसंस्थालाई आग्रह गरेका छन् । भारत सरकारको सहयोगमा सञ्चालित नेपाल आवास पुनर्निर्माण परियोजनाद्धारा आरुघाट गाँउपालिका मा आयोजित निजि आवास पुनर्निर्माण सम्बन्धी कार्यशालामा अध्यक्ष दाहालले पुनर्निर्माण सँगै विकास निर्माणका योजना ल्याउन माग गरेका हुन् । गाउँपालिकाकी उपाध्यक्ष कल्पना नेपालीले नेपाल आवास पुनर्निर्माण परियोजनाको कार्यक्रम मान्बु मात्र नभएर गाउँपालिकाको अन्य वडामा पनि सञ्चालन गर्न आग्रह गरिन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (जिमाली) का प्रमुख रामशरण आचार्यले निजि आवास पुनर्निर्माण का चुनौतीको सबै मिलेर सामना गर्नुपर्ने बताए । सबै लाभग्राही सम्झौता गर्न नआउनु, वास्तवीक लाभग्राहीको पहिचान नहुनु, प्रथम किस्ता लिएर घर नबनाउनु र माप दण्ड अनुरुप घर नबन्नु मुख्य समस्या रहेको भन्दै उनले सबैको सहकार्य र समन्वयमा समस्या समाधान गर्नुपर्ने बताए । कार्यक्रम मा परियोजनाका इन्जिनियर राजेश नेपालले आरुघाट गाउाँपलिकाको वडा नम्बर १ र २ मा निजि आवास पुनर्निर्माण ९१ प्रतिशत सकिएको बताए । उनका अनुसार जिल्लामा ९१ प्रतिशतले घर निर्माण सकेर तेश्रो किस्ता लिईसकेका छन् ।




