
गण्डकी गाउँपालिका ८द्वारा युवालाई अनुदान दिन सुरु
गण्डकी गाउँपालिका ८ ले युवा स्वरोजगार कार्यक्रम सुरु गरेको छ । स्वरोजगार कार्यक्रम अन्तरगत दुई महिला समुह र ६ किसानले अनुदान पाउने भएका छन् । पृृथ्वी हस्तकला महिला महिला समूह खसटार र नयाँगाउँ कृषि महिला समूह छनौट भएका वडाअध्यक्ष रामप्रसाद रेग्मीले बताए । पृथ्वीले हस्तकलाका सामाग्री तयार गरी बिक्री गर्दै आएको छ भने नयाँगाउँले इन्टरलक इट्टा उत्पादन गर्दै आएको छ । उत्पादनमुलक पेशा व्यवसाय गर्ने र कम्तीमा ५ बर्ष सोही पेशालाई निरन्तरता दिनेलाई अनुदानका लागि छनौट गरिएको वडा अध्यक्ष रेग्मीले जानकारी दिए । ‘छनौट भएकालाई आबश्यकताका आधारमा अनुदान दिने तय भएको छ’ उनले भने ‘समुहलाई ९० हजारदेखि एक लाख रुपैयाँसम्म र ब्यक्तिलाई ४० देखि ५० हजार रुपैयाँसम्म अनुदान दिन्छौ ।’
युवा स्वरोजगार कार्यक्रमका लागि वडा कार्यालयले चालु आर्थिक बर्ष चार लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । स्थानीय स्तरका स्रोत साधनको प्रयोग गरि उत्पादन बढाउन तथा स्वरोजगारको वातावरण बनाउन यो कार्यक्रम लागु गरेको वडाअध्यक्ष रेग्मीले बताए । सो क्षेत्रमा तरकारी खेती, बाख्रा तथा गाईभैसीपालन लगायत कृषिसँग सम्बन्धित ब्यबसाय गर्न उपयुक्त रहेकाले स्थानीय युवालाई आफ्नै ठाउँमा काम गर्ने वातावरण बनाउन तथा उनीहरुलाई प्रोत्साहनका लागि कार्यक्रम गरिएको उनको भनाई छ ।




