
भारतमा बेचिएका चेलीसम्बन्धी बृत्तचित्र र नाटक गोरखामा प्रदर्शन
दरौंदी ः नेपालबाट बेचिएर भारतका विभिन्न सर्कसमा काम गरि फर्किएका बालबालिकाहरुको भोगाई समेटिएको बृत्तचित्र गोरखामा प्रदर्शन गरिएको छ । सर्कसबाट उद्धार गरि फर्काइएकाहरुले गठन गरेको संस्था सर्कस काठमाण्डौंले निर्माण गरेको बृत्तचित्र शनिवार सदरमुकाममा प्रदर्शन गरिएको हो । ‘इभन ह्वेन आइ फल’ अर्थात यदि म लडँे भने… शिर्षकको बृत्तचित्रमा मुख्य रुपमा सर्कसमा बेचिएका दुई किशोरी शितल घिमिरे र सरस्वती अधिकारीको भोगाई समेटिएको छ । हेटौंडा घर भएकी शितललाई ५ वर्षको उमेरमा परिवारजनले भारतीय सर्कसमा काम गर्ने गरि बिक्री गरेका थिए । बेचिएको १० वर्षपछि एस्टर बेन्जामिन मेमोरियल फाउण्डेशनको सहयोगमा शितल सहित ९ किशोर किशोरीलाई उद्धार गरि नेपाल ल्याइएको थियो । सँगै बेचिएकी दिदीको अवस्था भने अहिलेसम्म थाहा पाउन नसकिएको शितलले बताइन् । भारतबाट उद्धार गरि फर्काइएका ८ किशोरकिशोरीले नेपालमा सर्कस काठमाण्डौं नामक संस्था गठन गरेका हुन् । संस्थाले मानव बेचबिखनविरुद्ध विभिन्न चेतना मूलक कार्यक्रम गर्दै आएको उद्धार गरि फर्काइएकी हेटौंडाकै सरस्वती अधिकारीले बताइन् । बृतचित्र प्रदर्शनीसँगै सर्कस काठमाण्डौका कलाकारहरुले सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी नाटक पनि प्रदर्शन गरेका छन् । नाटक मार्फत फ्रि भिसा, फ्रि टिकट भनिएका काममा पनि म्यानपावर कम्पनीले पैसा असुल्ने गरेकाले सावधानी अपनाउन आग्रह गरिएको छ । कार्यक्रममा बोल्दै गोरखाका सरोकारवालाहरुले मानवबेचबिखन र सुरक्षित बैदेशिक रोजगारीका विषयमा स्थानीय तहहरुले पनि चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा गोरखा नगरपालीकाकी उपमेयर बिना श्रेष्ठ, जिल्ला समन्वय अधिकारी यमेन्द्र उपाध्याय, प्रहरी नायव उपरिक्षक महेन्द्र नेपाल, गैरसरकारी संस्था महासंघ गोरखाका अध्यक्ष सिताराम श्रेष्ठले मन्तब्य ब्यक्त गरेका थिए ।




