
अन्तराष्ट्रिय अवार्ड जित्न सफल छेकम्पारका दुई सहित पाचँजना सम्मानित

छेकम्पारका र चुम क्षेत्रका बारेमा उजागर गर्ने चुमबाहिरका गरी पाचँ जना सम्मानित भएका छन् । चुमकल्याण समितिले काठमाडौंको मुस्ताङ गुम्बामा शुक्रबार नौबीसौं ल्होसार कार्यक्रम आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो ।

ल्होसार समारोहमा छेकम्पारका भेन वाङचुक राप्तेन लामालाई सम्मान गरिएको समितिका सोनाम लामाले बताए । ‘स्वास्थ्यको क्षेत्रमा उहाँले गर्नुभएको योगदान, विशेषगरी भूकम्पका बेला उहाँको योगदान चुम क्षेत्रका लागि अविस्मरणीय छ’, लामाले भने, ‘न्यूयोर्कमा दीगो विकासको लक्ष्य प्राप्त गरेबापत गोलकिपर्स एवार्ड जितेर चुम क्षेत्रको इज्जत राखेको भनेर पनि उहाँलाई सम्मान गरेका हौं ।’ त्यस्तै समितिले निलेका सेराप ग्याल्जेन लामालाई सम्मान गरेको छ । चुमक्षेत्रका पहिलो मोडलका रुपमा उनलाई सम्मान गरिएको लामाले बताए । उनले बैंककमा अल्टिच्यूट मेन इन्टरनेशनल एवार्ड पाएका थिए । बेष्ट स्टाइलिस्ट एवार्ड जितेर चुम क्षेत्रको प्रतिष्ठा बढाएको भन्दै उनलाई सम्मान गरिएको सोनाम लामाले बताए ।
चुम क्षेत्रमा आयोजनाको तर्फबाट शान्ति स्थापनाका लागि दिएको योगदानको सम्मान गर्दै मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख नरेन्द्र लामालाई सम्मानपत्र प्रदान गरिएको चुम कल्याण समितिका अध्यक्ष निमा लामाले बताए ।

‘उहाँहरुको योगदानको कदर गर्दै अहिंसा महोत्सवका बेला २०६९ सालमै दिनुपर्ने प्रसंसापत्र बाँकी नै थियो, त्यो प्रदान गरियो’, लामाले भने, ‘त्यस्तै छेकम्पारको जलवायु परिवर्तन र त्यसले जनमानसमा परेको प्रभावका सम्बन्धमा अध्ययन गरी सोधपत्र तयार गर्नुभएकी खोटाङकी डाक्टर चेतकुमारी गुरुङ लाई पनि सम्मान गरियो ।’
चुमक्षेत्रको जनजीवन, संस्कृति, इतिहास र त्यहाँको बारेमा गहन अध्ययन गरेर अनुसन्धान पत्र तयार गर्ने नगिना प्लाच्थालाई पनि समितिले सम्मान गरेको छ । उनले सो पत्र स्वीजल्याण्डको विश्व विद्या लयबाट प्रकाशन गरेका छन् । समितिका अध्यक्ष निमा लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक सोनाम लामाले जानकारी दिए ।






