| शुक्रबार, मंसिर ११, २०८३

बूढीगण्डकी जलविद्युत कम्पनीको भवन तथा मोटरेबल पुलको शिलान्यास

बूढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन एवं मोटरबेल पुलको सभामुख डीपि अर्यालले शिलान्यास गरेका छन् । जिल्लाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा निर्माण हुन लागेको भवन तथा सिउरेनीटार र धादिङको कल्लेरी जोड्ने बूढीगण्डकी नदीमाथिको पक्की पुलको बुधबार एक समारोहका बीच शिलान्यास भएको हो ।

शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, धादिङ क्षेत्र नं १ कि सांसद आशिका तामाङ, स्थानीय सरोकारवाला निकाय लगायतको उपस्थिति रहेको थियो । बूढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय तथा आवास भवन र पुलको कुल लागत ३७ करोड २८ लाख ५८ हजार ५३३ रुपैँया रहेको कम्पनीले जनाएको छ ।

सो भवन निर्माणका लागि एम.एस विष्ट सिन्धुली जेभीले ठेक्का सम्झौता गरेको छ । यही असोज ३१ गते निर्माण कम्पनी र बूढीगण्डकी जलविद्युत कम्पनी लिमिटेड बीच ठेक्का सम्झौँता भएको हो । २०८५ जेठ १७ गतेभित्र कम्पनीको कार्यालय, आवास भवन र पुल निर्माणको काम सम्पन्न हुने गरी सम्झौता भएको कम्पनीले जनाएको छ ।

शिलान्यास भएसंगै राष्ट्रिय गौरवको १२ सय मेगावट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजनाको मुख्य पूर्वतयारी अन्तरगत कार्यालय तथा कर्मचारी आवास भवन र पुल निर्माणको काम औपचारिक रुपमा अघि बढेको छ । क्याम्प क्षेत्रभित्र आयोजनाको प्रशासनिक कार्यालय, कर्मचारी आवास गृह, प्रवेशद्वार लगायत आधुनिक पूर्वाधारहरु निर्माण गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियाको भनाइ छ ।

मुख्य बाँध र विद्युतगृह निर्माण सुरु गर्नुअघि आवश्यक प्रशासनिक तथा प्राविधिक जनशक्तिलाई कार्यस्थलमा नै व्यवस्थापन गर्न क्याम्प निर्माणको काम सुरु गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्