
गोरखामा पनि लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बुधबारदेखि सुरु भएको छ । गोरखामा पनि एकिकृत सामाजिक विकास कार्यालय र गोरखा नगरपालिकाको साँझेदारीमा प्रभातफेरी कार्यक्रम गरेर अभियानको सुरुवात गरिएको हो ।
नगरपालिकाको उपप्रमुख सवल नेतृत्व विकास कार्यक्रमअन्तरगत एकिकृत सामाजिक विकास कार्यालयसँग समन्वय गरेर अभियान सुरु गरिएको गोनपाकी उपमेयर मसलीमाया थोकरले बताइन् । बिहीबार लैङ्गिक हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेर अभियानको अन्य कार्यक्रमहरु तय गरिने उनले जानकारी दिइन् ।
‘बिहीबार गोरखा नगरपालिका, मानवअधिकारकर्मी, महिलाअधिकारकर्मी, शान्तिसमाज, सरकारी कार्यालय, राजनीतिक दल तथा अन्य सरोकारवाला निकायहरु मिलेर महिला हिंसा बिरुद्धका विषयमा तयार पारिएको कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम पनि छ’, उनले भनिन् ।
गोरखा नगरपालिका र पालिका र जिल्लाभर लैङ्गिक हिंसा न्यूनिकरण गर्न, लैङ्गिक समानता कायम गर्न, हिंसारहित समाज निर्माण गर्न र महिलाहरुको न्यायमा पहुँच पु¥याउने उद्देश्यसहित अभियान संचालन गरिएको उपमेयर थोकरको भनाइ छ ।
‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जनचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने गरेको छ ।
सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको पाइन्छ ।
नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएता पनि विसं २०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको १६ दिने अभियान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । यसैलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सबै समुदायदेखि तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरी यो दिवस मनाउँन थालिएको हो ।




