| बिहिबार, मंसिर ३, २०८३

सिजनअनुसारको काम : धान बारीमा खट्दै विद्यार्थीहरु

किताबी ज्ञानले मात्र जीवन बुझिँदैन, व्यवहारिक सीप पनि चाहिन्छ भन्ने अवधारणा अनुसार सरकारले पढ्दै कमाउँदै कार्यक्रम लागु गरेको छ । सोही कार्यक्रमअन्तरगत जिल्लाको अजिरकोट गाउँपालिका–३ जीवन ज्योति माविका विद्यार्थीहरुले खेतभरि धान झुलाएका छन् । धान भित्र्याउने सिजन सुरु भएसँगै विद्यार्थीहरु अहिले आफैले खेतमा फलाएको धान काट्नमा व्यस्त भएका छन् ।

बुधबार मात्र विद्यार्थीहरुले धान काट्न सुरु गरेका अजिरकोट–३ का वडाअध्यक्ष बाबुराम अधिकारीले बताए । विद्यालयको करिब दुई रोपनी क्षेत्रफलमा लगाएको धान विद्यार्थीहरुले बुधबार काट्न सुरु गरेका उनले जानकारी दिए । ‘विद्यार्थीहरु आफैले धान काट्ने रहर गरेपछि विद्यालयको ६, ७, ८, ९ र १० कक्षामा पढ्ने छात्रछात्रालाई एक, एक पिरियड धान काट्न दिएका हौँ’, वडाअध्यक्ष अधिकारीले भने, ‘यो वर्ष विद्यालयले पहिलो पटक धान खेती गरेकोमा करिब १० मुरी उत्पादन हुने अनुमान छ ।’

विद्यार्थीहरुलाई परम्परागत कृषि पेशा बारे ज्ञान दिने र कृषिप्रति आकर्षित गराउने तथा उनीहरुलाई कृषिमार्फत आम्दानीसँग जोड्ने मुख्य उद्देश्यसहित पढ्दै, कमाउँदै कार्यक्रम संचालन गरेको उनको भनाइ छ । विद्यालयले उत्पादन गरेको उक्त धान कक्षा ९ र १० का लागि संचालन गरेको आवासीय कार्यक्रममा खर्च गर्ने वडाअध्यक्ष बाबुराम अधिकारीले बताएका छन् ।

अजिरकोट–३ काफलडाँडास्थित जीवनज्योति माविले ‘सिकोडर नेपाल’नामक संस्थाको आर्थिक सहयोगमा विद्यालयमा ‘पढ्दै, कमाउँदै’ कार्यक्रम संचालन गर्दै आइरहेको छ । विद्यालयको नाममा रहेको ७ रोपनी जग्गामा उक्त कार्यक्रम संचालन गर्दै आएको पढ्दै, कमाउँदै कार्यक्रमका विद्यालय संयोजक शिक्षक राजेन्द्र बाबु गुरुङले जानकारी दिए । सिकोडरले कार्यक्रमका लागि आवश्यक मल, बिउविजन र श्रमखर्च उपलब्ध गराउँदै आएको उनले बताए ।

‘कृषि उत्पादनमा श्रमिकहरु नै लगाउँछौँ, विद्यार्थीहरुलाई खाली काम गरेको देखाउँछौँ । सिक्नका लागि हलुका कामहरु भने लगाउँछौँ’, वडाअध्यक्ष बाबुराम अधिकारीले भने, ‘नयाँ पुस्ता माझ श्रमको वितृष्णा छ । विद्यालयको कार्यक्रमले उनीहरुलाई श्रमको महत्व सिकाउँछ ।’

पढ्दै, कमाउँदै कार्यक्रममार्फत विद्यालयको खेर गैरहेको जग्गाको राम्रो सदुपयोग भएको उनको तर्क छ । विद्यालयले सिकोडरको सहयोगमा विद्यालयमा धानसहित काउली, आलु, गोलभेडा, खुर्सानी लगायत मौसमी तरकारीहरु पनि लगाएको छ । उक्त तरकारीबाट हुने आम्दानी विद्यार्थीहरुको अध्ययनमा खर्च गर्ने गरेको उल्लेख छ ।
विद्यालयले पढ्दै, कमाउँदै कार्यक्रममार्फत गतवर्ष ३० मुरी आलु उत्पादन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्