| बिहिबार, मंसिर ३, २०८३

आरुघाटको स्वाँरामा एकदिने पशु स्वास्थ्य शिविर सम्पन्न

आरुघाट गाउँपालिका वडा नं. ३ स्वाँरामा एकदिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, क्लस्टर इकाइ गोरखाले आरुघाट कार्य गाउँपालिकाको प्राविधिक सहयोगमा शिविर आयोजना गरेको हो ।

शिविरमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञकेन्द्रका पशुचिकित्सक तथा पालिकाको पशु सेवा शाखाका कर्मचारीहरुले दुईसयभन्दा धेरै पशुपालक किसानका पशु चौपायाहरुलाई उपचार तथा औषधी वितरण गरेका थिए । साथै पशु चौपायामा लाग्ने रोग र यसबाट बचाउने उपायका बारेमा परामर्श पनि दिइएको थियो ।

कतिपय पशुहरुलाई रेविज रोगविरुद्धको भ्याक्सिन लगाइएको तथा पशु चिकित्सकहरुको सिफारिसमा पशुहरुलाई औषधी वितरण गरिएको फ्यानस्याब प्रमुख संयम पण्डितले जानकारी दिए । पशुपंक्षीमा लाग्ने रोग, यसको रोकथाम तथा रोग लागेमा उपचार गर्ने सीपका बारेमा पनि जानकारी गराइएको उनले बताए ।

सो आयोजनाले गोरखाको आरुघाट गाउँपालिकामा पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ भने सहिद लखन गाउँपालिकामा पनि सो शिविर सञ्चालन गर्ने पण्डितले जानकारी दिए । त्यस्तै धादिङको सिद्धलेख र गल्छी गाउँपालिकामा पनि शिविर सञ्चालन गर्ने पण्डितले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्