| आइतवार, कार्तिक १, २०८३

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा दरवारबाट काठमाडौंको हुनमानढोकाका लागि फुलपाती पठाइएको छ । शनिवार बिहान बाजागाजासहित बा २ झ २१२८ नम्वरको गाडीमा फुलपाती पठाइएको हो । शुक्रवार पस्लाङ क्षेत्रको वनबाट फूलपाती संकलन गरेर गोरखा दरवारको दशै घरमा राखिएको थियो । सोही फूलपाती शनिवार बिहान काठमाडौं पठाइएको पुजारी सारु मगरले बताए ।

‘सुसारेहरुले वनबाट संकलन गरेर ल्याएको हलेदो, धान, तामा, वेल, जयन्ती झार, माने लगायतका फूलपाती दशै घरमा राखिएको थियो,’ उनले भने, ‘त्यही फूलपाती आज काठमाडौै पठाएका हौ ।’ पहिले धादिङको जिवनपुर, नुवाकोट हुदै हिडेर फुलपाती हनुमानढोका पु¥याउने प्रचलन थियो ।

२०६६ सालदेखि यो क्रमलाइ तोडेर मोटरवाटोको प्रयोग गर्न थालिएको गोरखा दरवार हेरचाह अड्डाले जनाएको छ । राज्य एकीकरणको क्रममा पृथ्वी नारायण शाहले काठमाडौ माथि बिजय प्राप्त गरेर राजधानी बनाएसँगै गोरखाको फुलपाती हनुमानढोका लाने प्रचलन शुरु भएको विश्वास छ ।

आज साँझ बाजागाज सहित हर्ष बडाइका साथ गोरखा दरवारमा पनि फुलपाती भित्र्याउने प्रचलन छ । साँझ करिव चार बजे फूलपाती भित्र्याइने मगरले बताए । ‘आज गोरखकाली मन्दिरमा भित्र्याउने फूलपाती संकलन गर्न आज बिहान सुसारेहरु गइसक्नुभएको छ,’ उनले भने, ‘घाम डुब्ने बेलामा बाजागाजासहित हर्ष बडाई गर्दै त्यो फूलपाती गोरखकाली मन्दिरको दशै घरमा भित्र्याउछौ ।’

प्रतिक्रिया दिनुहोस्