
बूढीगण्डकीले ल्याएको कालो ‘दबदबे’भित्र आफ्नो छानो चियाउँदै ‘सुप्रिम’
प्रतीक्षा आले
आइतबार सबेरै सानु सुनारको मोबाइलमा तारन्तार घन्टी बज्यो, सोती बजारका साथीभाइहरुबाट आएको । फोनको टिनिनीसँगै बस्तीमा अत्यासलाग्दो होहल्ला मच्चियो । होहल्लाकै बीच आरुघाट गाउँपालिका–५ शान्तिबजार क्षणभरमै अशान्त बन्यो ।
चारैतिर, ‘बूढीगण्डकी उर्लिएर आएको छ रे, सबै जना भाग्’ भन्ने हल्ला मच्च्यिो । बस्तीका सबै मान्छेहरु घरभित्रका गरगहना, पैसा र बहुमूल्य सामाग्री बटुलेर भाग्न थाले । ४५ वर्षका सानु सुनार पनि सबैभन्दा अमूल्य निधि आफ्नी आमा, दुईभाई छोरा र श्रीमतीलाई समेटेर भागे ।
बस्तीबाट केहीमाथिको थुम्कोमा पुग्न नभ्याउँदै बस्तीमाथि बूढीगण्डकी मडारियो । फेरि एकाएक शान्त बन्यो । पहिलो पटक आएको बाढीले शान्तिबजारलाई ‘छुम्, छुम्’ मात्र ग¥यो । पुनः दोस्रो पटक उर्लियो । यसपटक पनि शान्तिबजार सुरक्षित नै थियो । तेस्रो पटक भने त्यसो भएन ।
डरलाग्दो गड्गडाहटसँगै तेस्रो पटक उर्लिएको बूढीगण्डकीले सानु सुनारको सर्वस्व लुट्यो । विगत २० वर्षदेखि दुखसुख गरेर जमाएको उनको त्यो थातथलो क्षणभरमै अजंगको कालो डंगुरभित्र विलिन हुन पुग्यो । बूढीगण्डकीले ल्याएको त्यो कालो दबदबेभित्र सानु सुनार लगायत शान्तिबजारका ४६ घरधुरीको संसार दबियो ।
‘मेरो पुख्र्यौली घर धार्चेको गुम्दा गाउँमा हो । गाउँमा साह्रै दुख भएर यहाँ झरेको पनि २० बर्ष नाघ्यो’, उनले भने, ‘म मात्र होइन्, शान्तिबजारका हामी सबैजना केही सुविधा होला भनेर अन्यत्रै गाउँतिरबाट झरेका हौँ । हामी सबैजना यहाँ आफूले सकेको दुख गरेर खाने मान्छेहरु छौँ ।’ बाढीपछि क्षणभरमै आफूहरु घरबासविहिन बनेको उनले सुनाए ।
‘धन्न मेरो अमूल्य सम्पत्ति, मेरो परिवार साथमा छ । यिनीहरुलाई केही भएको भए, म पो कसरी बाच्थेँ होला र’, उनले भने ।
आरन र सामान्य खेतीकिसानको काम गर्छन् सानुले । बाढीले उनको खेतबारी, घरसँगै जीविकोपार्जनको एकमात्र माध्यम, आरन पनि लग्यो । गोठमा दुईथान भैँसी थिए उनका । दुईचार वटा बाख्रा पनि थिए । बाढीले सबै बस्तुभाउ बगायो । एउटा भैँसीलाई बूढीगण्डकीको हल्काले उत्याउँदै बुँकोट पु¥याएछ । त्यो मंगलबार जीवितै फेला प¥यो । अर्को बस्तीनजिकै फेला परेको छ तर त्यो भने बाँचेन ।
‘बाबा, हाम्रो घर खोई ?’
बाढीले घर लगेपछि सानु सुनारलगायत शान्तिबजारका बासिन्दाहरु वरपरका छरछिमेकीको घरमा आश्रित छन् । उनीहरु छिनछिनमा आफ्नो डुबेको बस्ती हेर्न गइरहन्छन् । सानु सुनार पनि घरीघरी बस्ती माथिको थुम्कोमा पुग्छन् । आफूले जमाएको त्यो दबदबे मुनिको थलो नियाल्छन् । उनीसँगै आफ्नो घर खोज्न पुग्छन्, ५ वर्षका सुप्रिम पनि ।
बाढीले शान्तिबजारलाई एउटै चिहान बनाएको छ ।
कालो डंगुरभित्र आफ्नो घर कहाँनिर छ भनेर ठम्याउन सुप्रिमलाई धौ–धौ छ । त्यसैले उनी बुवालाई घरी घरी सोध्छन्, ‘बाबा हाम्रो घर खोई ?’ सानुको कमिजको फेर समाउँदै फेरि सोध्छन्, ‘कहाँ निर छ भन्दिनु न ।’ छोराको त्यो गरुङ्गो प्रश्नको जवाफ सानुसँग पनि छैन । किनकि उनी आफै पनि आफ्नो घर पहिल्याउने अवस्थामा छैनन् ।
सानु भन्छन्, ‘खोई, कताकति कसैकसैको छानोको टुप्पो अलिअलि टल्किएको देखिन्छ । हाम्रो कुन हो, अरुको कुन हो भन्ने अलमल छ । बाढीले बस्तीको नक्सा पनि मेटाइदियो । नदीको बाटो पनि फेर्दियो ।’
विद्यालय जाने कसरी ?
बाढीले सुप्रिमको घरमात्र होइन्, विद्यालय जाने पुल पनि बगाएको छ । आरुघाटपारि धादिङको विशाल बजारस्थित ग्लोबल युनाइटेड स्कुलमा पढाई सुरु गरेका सुप्रिमको विद्यालयसँगको सम्पर्क पनि टुटेको छ । आइतबार उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोला तर्फबाट बूढीगण्डकीमा आएको बाढीले गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने मोटरेबल पुल बगाएको छ ।
बाढीले पुल बगाएपछि सुप्रिम लगायत गोरखातर्फबाट धादिङ पढ्न जाने बालबालिकाहरुको विद्यालयसँग सम्पर्क टुटेको छ । ‘जसो, तसो दुखसुख गरेर पारी बोर्डिङमा पढ्न पठाएको थिएँ । आजभोलि बल्लतल्ल स्कुल जान मान्थ्यो । अब त स्कुल जाने पुल पनि बगायो, घरपनि बगायो । कुन बाटो स्कुल जाने, कुन खर्चले बोर्डिङ पढ्ने ?’, सानु आफैलाई सोध्छन् ।
सुप्रिम मुनिको दुईवर्षका छोरा पनि छन् सानुका । बुढीआमा पनि छिन् । हुर्किदै गरेका दुइभाई छोरा, श्रीमती र आमालाई कहाँ, कसरी राख्ने भन्ने चिन्ता उनलाई परेको छ । बाढीले शान्तिबजार मात्र डुबाएन, त्यहाँ लुकेका हजारौँ सपनाहरु पनि डुबायो । बस्तीका १३६ जनाको ओत लाग्ने छानो डुबायो । दुरदराजका गाउँबस्तीबाट सुविधा खोज्दै त्यहाँ आइपुगेका आगन्तुकहरुको सर्वस्व डुबायो ।




