| बुधबार, भदौ २, २०८३

गाउँको रीतिथिति बाँध्दै गोठ समिति

आ–आफ्नो व्यवसायिक हितका लागि समिति तथा संघ, संगठन बनाउने र गतिविधि गर्ने चलन नयाँ होइन । लेक तथा खर्कमा आजीवन पशुपालन गर्ने विकट उत्तरी गोरखाका गोठालाहरुले परापूर्व कालदेखि अपनाउँदै आएको यो परम्परा अहिलेसम्म पनि विद्यामान छ ।

वडा तथा टोलहरुमा निर्वाचित जनप्रतिनिधि नभएका पनि होइनन्, तर प्राचीन परम्पराअनुसारको गोठ समिति पनि सक्रिय नै छ । सो समितिले गोठालाहरुको व्यवसायिक हक हितका लागि गठित गोठ समितिले हरेक बर्षको भदौ पहिलो दिनमा बैठक बसी गोठ कहिले लेक लैजाने, कहिले बेशी झार्ने, अरुको लेकमा गाईभैँसी पसेमा के कस्तो दण्ड जरिबाना तिर्ने, अरुको बारी तथा जंगलको घाँस काटेमा के–कति दण्ड जरिबाना गर्ने लगायतका नीति निर्माण गर्ने गर्छन् ।

यसबर्ष पनि भदौ पहिलो दिन गत सोमबार गोठ समितिको बैठक सम्पन्न भयो र विभिन्न निर्णयहरु गरेको गोठाला सुकबहादुर गुरुङले जानकारी दिए । सोही बैठकले बस्तुभाउबाट हुने गरेको होचो, अर्गेलोको जरिबाना तोकेको र लेक, खर्क, माडी, चरनक्षेत्र, खुलाउने, बन्द गर्ने मितिसमेत तय गरेको उनले जानकारी दिए ।

धार्चे गाउँपालिका ५ गुम्दामा भदौ १ गते सम्पन्न गोठ समितिको बैठकले आउँदो भदौको १० गते लेकका बस्तुभाउ बेशी झार्ने निर्णय पनि गरेको छ । अहिले गाउँ आसपासका बारीमा मकै भित्र्याइसकिएको छ । सो बारीमा केही समय गोठ राखिने उनले बताए । समितिले अरुको बारीमा घाँस काट्नु परेमा बँधुवा बस्तुभाउको लागि एउटाको दुईसय रुपैयाँका दरले शुल्क तिर्नुपर्ने नियम राखेको छ ।

चरुवा बस्तुभाउ फुस्केर कसैको बाली खाएमा पाँचसय रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको स्थानीय सुकबहादुर गुरुङले जानकारी दिए । बाख्राका लागि २० रुपैयाँ जरिबाना तोकिएको उनले बताए । उहियाको गोठ समितिको बैठकले भदौ १२ गते लेकको गोठ बेशी झार्ने र बस्तुभाउ एकत्रित गरी फेरि कुन कुन लेक, खर्क, चरनमा लैजाने भनेर निर्धारण गरेको उनले बताए ।
गोठालाहरुबाट संकलन भएको रकमले गोठ जाने बाटोघाटो बिग्रेभत्केको ठाउँमा मर्मत गर्ने गरिन्छ ।

साथै समय समयमा लेकमा पूजाआजा गर्नुपर्दा खर्च गर्ने गरिएको गुम्दाका कर्ण गुरुङको भनाइ छ । ‘गोठ सभा हाम्रो पुरानो रीति हो । यसले गाउँलेहरुलाई नियममा बाँध्ने काम गर्छ’, उनले भने, ‘समितिले दुई ठाउँको सीमाना, लेक, वनजंगलको सीमाना, चरन क्षेत्र र व्यक्तिगत जग्गाको साँधसीमाना पनि हेर्छ । कसैको गाईबस्तु बालीमा पसे, नपसेको हेर्छ । कारबाही गर्नुपरे गर्छ । गाउँको रीतिथिति जोगाउँछ ।’

गोठ सभामा सम्पुर्ण गाउँलेहरु अनिवार्य रुपमा सहभागी हुनुन पर्ने तथा सभाका नीति नियमहरुलाई पालना गर्नुपर्ने प्रावधान रहेको उनले बताए । गुम्दालगायत लाप्राक, लापु, सिङ्ला, उहियालगायतका दुर्गम गाउँहरूमा गोठ समितिले गाउँका मुद्दा मामिला मिलाउने काम गर्छ ।

चरन र खर्क बन्द गर्ने, खोल्ने, रेखदेख गर्ने काम गोठ समितिको हो । धार्चेको गाउँहरुमा कोदो, मकै, आलु भित्र्याइसकेपछि बस्तुभाउ बारीमा झार्नु परेमा पनि गोठ समितिले अनुमति दिनुपर्ने पुरानो रीति छ । गोठ समितिले कसको बस्तुभाउ कुन हो, कतिवटा छन् भन्ने पनि जानकारी राख्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्