
हिमाली भेगमा गहु्ँ भित्र्याउने चटारो गहुँ काट्न र कुट्न मेसिनको प्रयोग बढ्दै
प्रतीक्षा आले
यतिबेला चुमभ्यालीका किसानहरु लाई गहुँ भित्र्याउन भ्याई नभ्याई छ । प्रमुख बाली गहुँ भित्र्याउने सिजन सुरु भएसँगै उनीहरु गहुँ काट्न, झाँट्न र कुट्नमा व्यस्त भएका हुन् ।
गत असोजमा लगाएको गहुँ अहिले काट्ने बेला भएको चुमनुब्री गाउँपालिका ७ छेकम गाउँका दोर्जे लामाले बताए ।
गत मंगलबारबाट गहुँ काट्न सुरु गरिएको उनले जानकारी दिए । ‘यहाँको वडाअध्यक्ष, लामा गुरुहरु र स्थानीय भद्रभलादमीहरुले दिन जुराएर मंगलबारबाट गहुँ काट्ने निर्णय ग¥यो’, उनले भने, ‘लामाले दिन हेराएर, साइत जुराएपछि बल्ल कुन दिनबाट गहुँ काट्ने निर्णय हुन्छ ।’ लामाले फुकेर मौसमलाई अनुकूल बनाउने जनविश्वास रहेको उनले बताए ।
हाल छेकम र जोङ गाउँदेखि गहुँ काट्न सुरु गरिएको छ । केहि दिनभित्रमा त्यहाँको गहुँ भित्र्यापछि ङाक्यू र लेरुमा काटिन्छ । एक दुई दिन ङाक्यू र लेरुको काटेर सकिन्छ । अर्को एक दुईदिनमा लामागाउँको काटिन्छ । त्यसपछि बुर्जी, लार, पाङदुन, छुले र निलेको काटिने स्थानीय दोर्जे लामाको भनाइ छ ।
करिब एकमहिनाभित्र छेकम्पारका सबै गाउँलेले मुख्य बाली गहुँ भित्र्याइसक्ने चुम गुम्बाका प्रमुख लामा पासाङ फुञ्जो लामाले बताए । छुले, निले पुग्न छेकम गाउँबाट झण्डै चारघण्टा पैदल हिँड्नु पर्छ । छेकमदेखि छुलेनिलेसम्म स्थानीयहरु आलोपालो अर्मपर्म गरेर गहुँ भित्र्याउने प्रचलन रहेको छ ।
चुमनुब्री गाउँपालिका ७ छेकम्पार तिब्बतको सीमा क्षेत्रमा अवस्थित गाउँ हो । ३३०० देखि ३५०० मिटर उचाइमा अवस्थित यहाँ गहुँ पाक्न ११ महिना लाग्ने गर्दछ । ‘गत असोजमा रोपेको गहुँ यतिबेला भित्र्याउन पाइन्छ’, लामा पासाङले भने, ‘अब खालि बसेको जग्गामा फेरि असोजतिर गहुँ लगाइन्छ । यहाँ गहुँ, फापर र आलु मात्र खेती गर्ने गरिन्छ ।’

बारीमा गहु्ँ र फापर आलोपालो गरी बालीचक्र मिलाएर लगाइने चलन रहेको उनले बताए । एक खेती मात्र लाग्ने चुमभ्यालीमा ११ महिना लगाएर फलेको गहुँले वर्षभरि खान पुग्छ । यहाँ उत्पादित गहुँ, फापर उच्च गुणस्तरको हुने भएकाले काठमाडौँ तथा विदेशमा बस्ने लामा गुरुहरुले पनि झिकाएर खाने गरेको लामा पासाङको भनाइ छ । यहाँ उत्पादित गहुँ प्रति घ्वाक १५० रुपैँयामा किनबेच हुन्छ ।
हिमाली भेगमा पनि बिगत १० बर्ष यता खेती प्रणालीमा मेसिनको प्रयोग गर्ने क्रम बढेको छ । चुमभ्यालीका किसानहरुले तिब्बत बाट मेसिन ल्याउँछन् ।
त्यहाँ घरघरमा गहुँ काट्ने र कुट्ने मेसिन छ । ‘१० जना मान्छेले गर्नेजति काम एउटा मेसिनले एकैछिनमा गर्नसक्दो रहेछ । धेरै सजिलो भएको छ’, लामा पासाङ फुञ्जोले भने । प्रमुख बाली गह मु्ख्यगरी ढिडो खान प्रयोग गरिन्छ । ‘हाम्रोतिर प्रायः एकछाक ढिँडो, एकछाक चामलको भात खाने चलन छ’, वडाअध्यक्ष टासी दोर्जे लामा भन्छन्, ‘अनि चम्पा खान, रोटी खान पनि गहुँ प्रयोग गरिन्छ । त्यस्तै, याक, चौरीको खाना बनाउन, रक्सी, छ्याङ आदि बनाएर खान पनि गहुँ प्रयोग गरिन्छ ।’




