
काशिगाउँका एक युवा मनाङ कारागारमा पुर्पक्षका लागि थुनामा
काम गर्न बसेको होटलमा चोरी गरेको आरोपमा मुद्दा खेपिरहेका गोरखाका एक युवालाई जिल्ला अदालत मनाङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
मनाङ प्रहरीले फरार सूचीमा राखेको धार्चे गाउँपालिका ६ काशिगाउँका रुविन गुरुङलाई मंगलबार अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो ।
गतबर्ष मनाङको डिस्याङ गाउँपालिका खाङ्सारका छेता गुरुङले दिएको जाहेरीका आधारमा प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरेको थियो । त्यतिबेला फरार रहेका उनको प्रहरीले खोजी गरेको थियो । प्रहरीका अनुसार उनीमाथि दुईलाख रुपैयाँ नगद र केही पुराना सिक्का चोरी गरेको आरोप छ । गत साउन ३ गते गोरखा प्रहरीले नियन्त्रणमा लिएर उनलाई मनाङ प्रहरीमा बुझाएको थियो । उनलाई मनाङ कारागारमा पठाइएको प्रहरी निरीक्षक विनोद बोहोराले जानकारी दिए ।




