
छात्रावासले गाउँमै थामिए दुर्गमका बालबालिका
शिव उप्रेती
गोरखा : उत्तरी गोरखा, हिमाल पारिका बालबालिका पढाइका लागि सहर जाने र उतैबाट विदेश पलायन हुन थालेपछि अभिभावकहरु गाउँ रित्तिने चिन्तामा छन् । पढ्नकै लागि बाल्यकालमा सहर गएपछि बालबालिकाले आफ्नो भाषा, संस्कृति, लिपि, रीतिथिति, भेषभुषा, आफ्नो पुर्खा, पुख्र्यौली सम्पति सबै बिर्सने भन्दै अभिभावक पिरोलिएका हुन् ।
विद्यालय शिक्षाका लागि बाल्यकालमै गाउँ छाड्ने र उच्च शिक्षाका लागि भन्दै उतैबाट विदेशिने गर्दा गाउँ वृद्धाश्रम जस्तो बनेकोमा अभिभावकहरुको चिन्ता छ । ‘बच्चै छँदा पढ्न सहर गएपछि उनीहरु उतैबाट उच्च शिक्षा पढ्ने निहुँमा विदेशिन्छन् । अनि उतै हराउँछन् । यहाँ फर्केर आउँदैनन्’ उनी भन्छन्, ‘सहरमा गएकाहरुले आफ्नो भाषा, संस्कृति, पुर्खा, पुख्यौली सम्पति, लिपि केही पनि जान्दैनन् । जान्ने रुचि पनि गर्दैनन् । गाउँलेहरु एकदम चिन्ता गर्छन् ।’
भौगोलिक विकटताका कारण बिदाका बेलामा पनि बालबच्चा भेट्न अभिभावकलाई धौ भएको उनको भनाइ छ । ‘बिदाका बेला बालबच्चा फर्केर गाउँ आउन सक्दैनन् । बाउआमा नै सहर जानुपर्छ । सहरमा घर छैन, डेरा छैन । होटलमा बस्नलाई पैसा छैन । अनि बालबच्चा भेट्न नपाएर पराइ हुन्छन्’, लामा भन्छन्, ‘यो हाम्रो हिमाली भेग जहाँतहीँको समस्या हो ।’
अहिले केही विद्यालयले छात्रावासको व्यवस्था गरेपछि बालबालिकाहरु गाउँमै रहन थालेका छन् । अहिले बालबालिका गाउँकै विद्यालयमा पढ्न पाएपछि स्थानीयबासी खुशी भएको प्रमुख लामा पासाङ फुञ्जो बताउँछन् ।
बालबालिका शून्य बन्दै गएका हिमाली गाउँहरुमा अचेल बालबालिका देख्न पाइन्छ । युवा विदेशिने र बालबालिका सहर गएपछि वृद्धाश्रमजस्तो बन्दै गएका गाउँहरुमा आजभोलि बालबालिकाको चहलपहल पनि देख्न पाइएको हो ।
सरकार तथा सामाजिक संघसंस्थाले छात्रावासको व्यवस्था गरेपछि बालबालिकाहरु गाउँकै विद्यालयमा पढ्न थालेका स्थानीयबासीको भनाइ छ । ‘अघिल्लो बर्ष हाम्रो गाउँको वुद्ध आधारभूत विद्यालयमा पुगनपुग १५, १६ जना मात्र विद्यार्थी थिए ।
अहिले हामीले छात्रावास बनाएर पढ्ने व्यवस्था मिलायौँ । यसबर्ष ५० जनाभन्दा धेरै विद्यार्थी भएका छन्’, चुमनुब्री ७ छेकम्पारका प्रमुख लामा पासाङ फुञ्जोले भने । गाउँको चुमगुम्बा परिसरमा जोसेफ फर डिग्निटी नामक अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा छात्रावास बनायौँ । सरकारी र गैरसरकारी संस्थाको सहयोगमा सबै बालबालिकालाई यही छात्रावासमा राखेर पढाउन थाल्यौँ । छात्रावासमा ४३ जना छन्, नर्सरीमा पढ्नेहरु घरबाटै आउँछन् । सबै गरेर ५० जनाभन्दा धेरै विद्यार्थी भएका छन् ।’ छात्रावासले गर्दा अहिले बालबालिका पनि खुशी, अभिभावक पनि खुशी भएका लामाको भनाइ छ ।
यसअघि यस भेगका अभिभावकले बर्सेनि स्पोन्सर(लामा गुरु)को मद्दत माग्दै आफ्ना छोराछोरी पढाउन काठमाडौं तथा भारतका विभिन्न गुम्बाहरुमा पढ्न पठाउने गरेका थिए । यसरी पठाएका बालबालिका फेरि फर्केर गाउँमा नआउने समस्याको चपेटामा गाउँले थिए । ‘काखको छोराछोरी पढाउन भनेर स्पोन्सर खोजेर काठमाडौँ, इण्डिया पठाउँछन् । उतै पढ्छन्, हुर्किन्छन्, बढ्छन् अनि यो भीर पहाड चढेर फर्केर आउँदैनन् । अहिले गाउँमा त युवाको मुख हेर्न रहर भइसक्यो’, प्रमुख लामा पासाङ फुञ्जो भन्छन्, ‘अब होस्टेल बनाएर खान, बस्न, लगाउन, कापी कलम सबै दिएपछि यतै पढाउँछन् । गाउँले धेरै खुशी भएका छन् ।’ गाउँको विद्यालयमा तिब्बती भाषा, धर्म, संस्कृतिका बारेमा पनि पढाइ हुने गरेको उनको भनाइ छ ।
गाउँलेको समस्या बुझेर आफूले दाता खोजेर गाउँको विद्यालयमा छात्रावास बनाएको लामाको भनाइ छ । ‘चुम गुम्बा र करुणा स्वास्थ्य संस्था मिलेर स्पोन्सर खोज्दै यहाँका बालबालिकालाई खाद्यान्न, स्टेशनरी सामान, लुगा कपडा जुटाएको छ’, लामा भन्छन्, ‘विदेशी संस्थाहरुले स्वयंसेवक शिक्षक पनि पठाउँछन् । आवश्यक सामान पनि पठाउँछन् । त्यसैले धानेको छ ।’
गोरखाको चुम उपत्यकामा दुई, नुब्री उपत्यकामा चार र पालिकाको केन्द्र फिलिममा एक विद्यालयमा छात्रावासको व्यवस्था छ । वडा नं. १ को गौरीशंकर आधारभूत विद्यालय, वडा नं. २ को ल्हो माध्यमिक विद्यालय, वडा नं. ३ को वुद्ध माध्यमिक विद्यालय, वडा नं. ४ को नुब्री आधारभूत विद्यालय, वडा नं. ५ को सेराङ(गुम्बा हिमाली) आधारभूत विद्यालय, वडा नं. ६ को सिद्धगणेश आधारभूत विद्यालय र वडा नं. ७ को वुद्ध आधारभूत विद्यालयमा छात्रावास सञ्चालन रहेको पालिकाको शिक्षा शाखाले जनाएको छ ।
छात्रावासमा राखेर पढाउन पाएपछि विद्यार्थी गाउँमै टिक्न थालेका नुब्री आधारभूत विद्यालयका प्रधानाध्यापक गणेश ढकाल बताउँछन् । ‘हाम्रो विद्यालयमा २०७४ सालदेखि होस्टलको व्यवस्था हुन थालेको हो’, उनी भन्छन्, ‘होस्टल भएपनि विद्यार्थी संख्या ह्वात्तै बढेका छन् । अहिले हाम्रो विद्यालयमा ७० जनाभन्दा धेरै विद्यार्थी छन् ।’ छात्रावासको आकर्षणले बालबालिका गाउँकै विद्यालयमा पढेको उनको भनाइ छ । ‘हामीले निशुल्क खान, बस्न, लुगा कपडा र स्टेशनरी सामान पनि जुटाइदिन्छौँ । यसले गर्दा बालबालिका गाउँकै विद्यालयमा पढ्छन्’, प्रअ ढकालले भने ।




