
गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु
गोरखादेखि जितगढीसम्मको ऐतिहासिक एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु भएको छ । शुक्रबारबाट सुरु भएको पदयात्राको यो चौंथो संस्करण हो । गोरखा दरबारको हनुमानभञ्ज्याङमा एक कार्यक्रमकाबीच पदयात्रामा सहभागीहरुलाई बिदाइ गरिएको छ ।
टर्च लाइटको साथमा नेपाली सेनाको प्रथम कम्पनीहरू (श्रीनाथ, सबुज, पुरानो गोरख, बर्दवाणी र कालिबक्स) को झण्डा हस्तान्तरण गरेर उनीहरूलाई बिदाइ गरिएको रुद्रध्वज गणका गणपति विरोध रिजालले जानकारी दिए ।पश्चिम पृतना पोखराका पृतनापति उपरथी भोलानाथ थापा, पालुङटार नगरपालिकाका मेयर विवश चिन्तन, गोरखा नगरपालिकाकी उपमेयर मसली माया थोकर, सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा लगायतले संयुक्त रुपमा झण्डा र टर्च लाइट हस्तान्तरण गर्दै यात्रामा सहभागीहरुलाई बिदाइ गरेका हुन् ।
यात्रामा सेनानी रोशन अधिकारीको कमाण्डमा ३५ जनाको टोली सहभागी छन् । गोरखाबाट सुरु भएको पदयात्रा तनहुँ, पाल्पा हुँदै जितगढी पुगेर टुंगिने छ । गोरखाको टोलीले पालुङटारको सतिघाट पुगेर आजै तनहुँलाई झण्डा र टर्च हस्तान्तरण गर्नेछ । तनहुँले पाल्पालाई र पाल्पाले रुपन्देहीलाई बुझाउने गणपति रिजालले बताए ।




