
अर्थमन्त्रीलाई बुझाइयो गोरखकाली रबर उद्योगको रिपोर्ट
अर्थमन्त्री स्वर्णिम वाग्ले समक्ष गोरखकाली रबर उद्योग लिमिटेडको ड्यू डिलिजेन्स अडिट (डिडिए) प्रतिवेदन प्रस्तुत गरिएको छ । सरकारले लामो समयदेखि बन्द वा घाटामा सञ्चालन भइरहेका सार्वजनिक उद्योगहरूको अवस्था मूल्यांकन तथा व्यवस्थापनका लागि डिडिए प्रक्रिया अघि बढाएको थियो ।
सोही क्रममा गोरखाको गोरखकाली रबर उद्योगसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेश भएको हो । प्रस्तुत प्रतिवेदनमा उद्योगको वित्तीय अवस्था, सम्पत्ति मूल्यांकन, सञ्चालन सम्भाव्यता, तथा पुनर्संरचना वा निजीकरणको विकल्पबारे विश्लेषण गरिएको छ ।
गोरखकाली रबर उद्योग नेपालकै एकमात्र टायर उत्पादन गर्ने सरकारी उद्योग भए पनि कच्चा पदार्थ अभाव, वित्तीय संकट र व्यवस्थापन समस्याका कारण विगतमा पटक–पटक बन्द हुँदै आएको छ । अर्थमन्त्री वाग्लेले यस्ता घाटामा रहेका सार्वजनिक संस्थानहरूको सुधार, पुनर्संरचना वा आवश्यक परे निजी क्षेत्रसँग सहकार्य गर्ने नीति लिने संकेत दिँदै आएका छन् ।
सरकारले गोरखकाली रबर उद्योगसहित अन्य निष्क्रिय तथा घाटामा रहेका संस्थानहरूको व्यवस्थापनका लागि डिडिए प्रतिवेदनका आधारमा आगामी निर्णय लिने तयारी गरेको छ ।




