| मङ्लबार, बैशाख १, २०८३

जेनजी अगुवा सुधनको गृह प्रवेश, चुमनुव्रीवासी उत्साहित

रास्वपाका वरिष्ठ तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) को मन्त्रिपरिषद्मा को गृहमन्त्री बन्ने चर्चा केहि दिनयता व्यापक थियो । बालेन आफैं आफ्ना विश्वासपात्र समेत रहेका तथा महानगरमा सँगै काम गरेका सुनिल लम्साललाई गृहमन्त्री बनाउन चाहेको विषय बाहिरियो । तर, रास्वपा सभापति रवि लामिछाने भने पार्टीका उपसभापति डीपी (डोलप्रसाद) अर्याललाई गृहमन्त्री बनाउन चाहेको विषय सार्वजनिक भयो । यद्यपी गृहमन्त्री को बन्ने वा क–कसको सम्भावना छ भन्ने विषयमा रास्वपाले भने औपचारिक रुपमा केही बालेको थिएन ।

रवि र बालेन दुबै पक्षले आ–आफ्नो अडान कायम राख्दा गृहमन्त्रीको टुंगो भने अन्तिम समयमा लाग्यो । किनकी, गृहमन्त्रीको कुनै चर्चा मै नआएका सुधन गुरुङ गृहमन्त्री बन्नुले अन्तिम समयको निर्णय गरेको बुझ्न सकिन्छ । मन्त्री नियुक्त हुने अघिल्लो (बिहीबार)बाट गृहमन्त्रीको नाममा सुधनको चर्चा भएको थियो । कतिपयले रवि–बालेनले आ–आफ्नो अडान राख्दा उनीहरु दुबैलाई मिलाउन भूमिका खेलेको र जेनजी आन्दोलनको अगुवा समेत रहेका सुधनले बाजी मारेको विश्लेषण गरेका छन् ।

हरेक पटक मन्त्रिपरिषद् गठन हुँदा निकै आकर्षक र बलियो मानिने गृहमन्त्री को बन्ने भन्ने चर्चा हुने गर्छ । देशभरको शान्ति सुरक्षाको जिम्मा, ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु, करिब ८० हजार फौजको नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागजस्ता महत्वपूर्ण संरचनाको कमाण्ड गृहले गर्छ । जसकारण गृहमन्त्रीलाई निकै पावरफुल मन्त्रीको रुपमा लिइन्छ । प्रधानमन्त्रीपछि सबैभन्दा आकर्षक र शक्तिशाली मानिने गृहमन्त्रालयको कमाण्ड सम्हालेकाले सुधनको शक्तिको मापन यसबाट पनि गर्न सकिन्छ ।

अर्कोतर्फ उनी बालेन सरकारको वरीयतामा पनि तेस्रो नम्बरमा छन् । अर्थात् मन्त्रीहरूको वरीयतामा उनी अर्थमन्त्री स्वर्णिम वाग्लेपछिको छन् । यसबाट पनि सुधन अहिलेका मन्त्रिपरिषद्का शक्तिशाली मन्त्री हुन् भन्ने बुझिन्छ । गृहमन्त्री बनेका सुधन गुरुङ भने जेनजी आन्दोलनपछि चर्चामा आएका व्यक्ति हुन् । गृहमन्त्रीको जिम्मेवारी सम्हालेका गुरुङको पृष्ठभूमि भने सामाजिक सेवा देखिन्छ ।

विशेषगरी २०७२ को भूकम्पमा उनी राहत र उद्दारमा खटिएका थिए । त्यसअघि उनी नाइट क्लबमा काम गर्थे । फरक पृष्ठभूमिका उनै सुधनले अहिले निकै शक्तिशाली रहेको गृहमन्त्रालयको जिम्मेवारी सम्हालेपछि कतिपयले आश्चर्य पनि व्यक्त गरेका छन् ।अहिले गृहमन्त्री बनेका सुधन गुरुङ भने जेनजी आन्दोलनपछि चर्चामा आएका व्यक्ति हुन् । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा उनी ‘हामी नेपाल’ नामक संस्थाबाट आबद्ध भएका थिए ।

उमेर जेनजी नभएका उनी त्यतिबेला सुरुमा आफूलाई स्वयंम सेवकको रुपमा चिनाउँथे । अन्ततः उनले जेनजी, उनीहरुका परिवारहरुलाई समेट्ने काम गरे । र, जेनजी आन्दोलनको स्वामित्व लिए । जेनजी आन्दोलनपछि अन्तरिक सरकार गठन गर्नेक्रममा नेपाली सेनासँग वार्ता गर्ने मुख्य व्यक्ति पनि सुधन थिए । सुधनकै नेतृत्वमा जेनजीहरुले प्रधानसेनापति अशोकराज सिग्देलसँग पटक–पटक वार्ता गरेका थिए ।

त्यसपछि डिस्कर्डबाट चुनिएका सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइएको थियो । गृहमन्त्रीमा भने ओम प्रकाश अर्याल नियुक्त भए । त्यसपछि भने सुधनले जेनजी आन्दोलनमा राज्य पक्षबाट भएका हत्या घटनामा संलग्नहरूलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने सुधनले आवाज उठाए ।

गृह मन्त्रालयले भने यसमा कुनै तदारुकता नदेखाएको भन्दै उनी ओमप्रकाश अर्यालसँग असन्तुष्ट बनेका थिए । ‘अहिलेको सरकार खाली चुनाव–चुनाव मात्रै भनेको छ । चुनाव गराउने जेनजी आन्दोलन भएको हो ? हाम्रा भाइबहिनी मार्नेलाई खोई कारबाही ?, खोई सुशासन ?’ जस्ता प्रश्न गर्दै गृहमन्त्रीको आलोचना गर्थे ।

अझ सुरुमा त प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने, त्यसका लागि बरु केही समय संसद ब्युत्याउन सकिने अनि मात्रै चुनावमा जानुपर्ने धारणा राख्थे । पछिल्लो समय भने प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री नेपालका लागि ठिक नहुने बताउँदै आएका थिए । चुनावी सरकारले जेनजी आन्दोलनको मर्म पूरा गर्न नसक्ने भन्दै उनी आफैं राजनीतिमा होमिने निचोडमा पुगेका थिए ।

गत १० पुसमा ललितपुरको एक घरमा रवि–बालेनबीच वार्ता हुँदा बाहिरबाट ताला लगाउँदै सुधनले मिलेर आएपछि मात्रै ताला खोल्ने बताएका थिए । रवि–बालेनलाई मिलाउन मुख्य भूमिका खेलेका सुधनको नाम बालेनबाट आएपछि जेनजी आन्दोलनको मर्म पनि समेटिने भन्दै अन्तिम समयमा रवि सहमत भएको बताइन्छ ।

जेनजीको जनादेश कार्यान्वयन गर्ने भन्दै जेनजी आन्दोलनका शहीदलाई नर्बिसन भन्दै सुधनले एक मिनेट मौन धारण समेत गर्न लगाएका थिए । हिजो चुनावी सरकारले काम गर्न नसकेको, जेनजीलाई न्याय दिन नसकेको भन्दै प्रश्न गरिरहेका सुधनलाई अब गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने चुनौती थपिएको छ ।

शुक्रबार मन्त्रालयमा कार्यभार सम्हालेपछि निर्देशन दिनेक्रममा गृहमन्त्री गुरुङले प्रतिवेदन कार्यान्वयन गर्नेतर्फ संकेत गरेका थिए । ‘कार्यान्वयनको निर्णय भएपछि प्रतिवेदनको आधारमा कारबाही अघि बढ्छ’ सुधनले कार्यभार सम्हाल्दै भनेका थिए । प्रतिवेदन कार्यान्वयन अघि बढेको भन्दै शनिवार पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ । यता पार्टीका अध्यक्ष पक्राउको बिरोधमा एमालले प्रदर्शन थालेको छ ।

को हुन् सुधन
सुधन गुरुङ गत भदौ २३ र २४ को जेनजी आन्दोलनपश्चात् एकाएक चर्चामा आएका हुन् । गोरखाको चुमनुव्री गाउँपालिका–३ सिर्दिवास पुख्र्यौली थलो भएका गुरूङको जन्म २०४४ सालमा भएको हो । काठमाडौंको मल्टी इन्टरनेसनल कलेजमा ‘ए लेभल्स’ को पढाइ सकेपछि उनी विपद् सम्बन्धी तालिम लिएर सहजकर्ताको रूपमा काममा लागेका थिए । विभिन्न संघसंस्थासँग जोडिएर काम गर्ने अवसर पाउँदै गएपछि गुरुङ सामाजिक कार्यमा अग्रसर भएका थिए ।

२०७२ सालको भूकम्पपछि ‘हामी नेपाल’ नामक संस्था खोलेर उनी राहत तथा उद्दारमा खटिएका थिए । ‘शिक्षा, स्वास्थ्य, विपद् र समाजमा देखिएको विसङ्गति विरुद्ध आवाज उठाउने उद्देश्यसहित म एक्लैले यो संस्था खोलेँ,’ गुरुङ भन्दै आएका छन्, ‘पछि अरूहरू पनि जोडिँदै जानुभयो ।’ घटनाक्रम अनुसारका विभिन्न आन्दोलनमा समेत उनी सहभागी बन्दै आए । बाढीपहिरोजस्ता विपद्मा मात्र नभई कोभिडको समयमा पनि उनी आबद्ध संस्थाले विभिन्न ठाउँमा सहयोग ग¥यो । कोभिड अस्पताल निर्माणदेखि ड्रोनबाट राहत वितरणको काममा समेत उनको संस्था अग्रसर देखियो ।

सामाजिक कार्यमा व्यस्त रहँदै आएका उनलाई धेरैले चिन्दैनथे । सुदन गुरूङ नेपाली राजनीतिक वृत्तमै हलचल ल्याउने गरी गत २३ भदौमा भएको जेनजी आन्दोलनका कारण सर्वाधिक चर्चामा आए । तर, उनी जेनजी उमेर समूहका युवा भने होइनन् । २३ भदौमा युवाहरू काठमाडौंको माइतीघर मण्डलामा भेला हुँदा गुरुङले आफूलाई स्वयमसेवकको रूमा चिनाएका थिए । जेनजी आन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको खुट्टा ढोगे पछि उनको चर्चा थप चुलिएको थियो ।

गुरूङमाथि जेनजी आन्दोलन ‘हाईज्याक’ गरेको आरोप पनि लागेको थियो । गुरूङले आफ्नै समर्थनमा सरकार बनेको दुईपछि नै प्रधानमन्त्री कार्कीको राजीनामा माग गर्दै मध्यरातमा बालुवाटारमा प्रदर्शन पनि गरेका थिए । कार्की नेतृत्वको अन्तरिम सरकार गठनदेखि मन्त्रिमण्डल विस्तारसम्म उनको बोलबाला चल्यो । उनले निर्वाचनको सम्मुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) र काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाह (बालेन) लाई एक ठाउँमा उभ्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी बालेनसँगै रास्वपामा मिसिए ।

सामाजिक अभियन्ताबाट राजनीतिमा फड्को मारेका उनले आसन्न निर्वाचनमा गोरखा–१ बाट टिकट समेत पाए । उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

चुमनुव्रीवासी उत्साहितसँगै आशावादी पनि
सुधन गृहमन्त्री बनेसँगै चुमनुव्रीका स्थानीयमा उत्साह छाएको छ । गोरखा–१ बाट चुनाव जितेर गृहमन्त्री बन्ने चुमनुव्रीको उनी पहिलो व्यक्ति भएकाले आफूहरु उत्साहित भएको स्थानीय कुमारी गुरुङले बताइन् । ‘राजनीतिक धार फरक भएपनि सुधनको जीत सम्पूर्ण चुमनुब्रीबासीको जीत हो,’ गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष समेत रहेकी गुरुङले भनिन्, ‘उहाँ गृहमन्त्री बनेको खबरले हामी झनै हर्षित छौँ ।’ गृहमन्त्रीमा नियुक्त भएसँगै चुमनुब्रीप्रति उनको जिम्मेवारी बढेर गएको उनले बताइन् ।

अब भने पालिकाको केन्द्र फिलिमसम्म सडक सञ्जाल जोडिनेमा उनी ढुक्क छिन् । ‘म उपाध्यक्ष हुदाँ सडकको समस्या लिएर हामी पटक पटक गृहमन्त्रालय धाएका थियौ, तर हाम्रो फाइल कहिल्यै अगाडी बढेन,’ उनले भनिन्, ‘‘अहिले सुधन आफै गृहमन्त्री भएपछि पालिका केन्द्रसम्म कसो सडक नआउला र ?’ सिंगो राष्ट्रको जिम्मेवारी भएपनि आफ्नो विकट गाउँ ठाउँलाई बिशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।

सुधनमाथि स्थानीयको अपेक्षा धेरै रहेको छेकम्पारका पासाङ फुन्जो लामा बताउँछन् । आफ्नै ठाउँको मान्छे गृहमन्त्री बन्दा स्थानीय खुशी हार्षित र आशावादी रहेको बताउँदै उनले भने, ‘यसअघिको सांसदहरुले चुमनुब्रीको दुख कष्ट बुझेको थिएन, यहाँको मान्छेको पीडा बुझेको थिएन । सुधन त हाम्रै चुमनुब्रीको हो । उहाँले त हाम्रो दुख, पीडा बुझ्नुहुन्छ होला नी !’
गाउँपालिका अध्यक्ष निमा लामाले चुमनुब्रीको सुधन गुरुङ गृहमन्त्री बनेसँगै पालिकाको शिक्षा, स्वास्थ्य र पूर्वधारको क्षेत्रमा उल्लेखनीय काम हुने विश्वास लिएका छन् ।

‘उहाँसँग चुमनुब्रीको अपेक्षाहरु धेरै छ’, उनले भने, ‘यो क्षेत्रको विकासमा उहाँको अग्रसरता होला भन्ने आशा म लगायत गाउँपालिकाबासीको छ ।’ चुमनुब्री गाउँपालिकाको टोली छिटै गृहमन्त्रालय पुगेर सुधन गुरुङलाई पालिकामा हेली उडान सहज बनाउन माग राख्ने लामाले बताएका छन् । यस्तै, चुमनुब्रीको निषेधित क्षेत्र खुल्ला गर्नुपर्ने माग आफूहरुको रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्