| मङ्लबार, बैशाख १, २०८३

गोरखा नगरपालिकाका युवाहरुलाई सिपमूलक तालिम

गोरखा नगरपालिकाले बेरोजगार युवाहरुलाई लक्षित गरी सिपमूलक तालिम संचालन गर्ने भएको छ । पोखरा भ्याली टेक्निकल टे«निङ इन्स्चिच्युट प्रालिको समन्वयमा तालिम दिन लागिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव खनालले बताए ।

सिकर्मी र सटरिङ्ग, डकर्मी प्लम्बर र स्टिल फिक्चर्स, इलेक्ट्रोनिक र मोबाइल मर्मत तथा वेसिक र एडभान्स इलेक्ट्रीकल तालिम दिइने उनले जानकारी दिए । वेशिक र एडभान्स इलेक्ट्रीकल तालिमको अवधि ६ महिना र अन्यको चार महिना रहने उनको भनाई छ ।

नगरपालिकाले सिकर्मी र सटरिङ्ग तथा डकर्मी प्लम्बर र स्टिल फिक्चर्स तालिमका लागी १०/१० जना माग गरेको छ । साधारण लेखपढ गर्न सक्ने १७ वर्ष पूरा भई ४० वर्ष नकटेका युवाहरुले यो तालिम लिन सक्ने छन् । इलेक्ट्रोनिक र मोबाइल मर्मत तथा वेशिक र एडभान्स इलेक्ट्रीकल तालिम लिनका लागी भने अनिवार्य रुपमा कक्षा आठ उत्तीर्ण गरेको हुनुपर्ने नगरपालिकाले जनाएको छ । उक्त तालिमका लागी २/२ जना माग भएको छ । १७ वर्ष पूरा भई २७ ननाघेकाहरुले यो तालिमका लागी आवेदन दिन पाउने छन् ।

तालिममा छनोट भएकाहरुलाई खान बस्नको सुविधा सहित आउने जाने बसभाडा व्यवस्था गरिने बताइएको छ । प्रत्येक महिना एक हजार रुपैयाका दरले भत्ताको समेत व्यवस्था रहेको खनालले बताए । आगामी बैशाख २५ गतेबाट पोखरामा तालिम संचालन हुने उनले जानकारी दिए । तालिम लिन इच्छुकले आवश्यक कागजातसहित चैत मसान्तसम्ममा आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्