| आइतवार, जेष्ठ १६, २०८३

रास्वपाका महामन्त्री बुर्लाकोटी गोरखा २ बाट निर्वाचित, युवा अभियानदेखि संसदसम्मको यात्रा

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । आइतबार साँझ क्षेत्र नं. २ को निर्वाचन कार्यालयले २६ हजार ६६० मत प्राप्त गरेका बुर्लाकोटीलाई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरेको हो ।

कूल १ लाख ८ हजार ५३३ मतदाता रहेको गोरखा २ मा ५७ हजार १५६ मत खसेको थियो । जसमध्य ५४ हजार १४७(९४.७३ प्रतिशत) मतमात्र सदर र ३ हजार ९ (५.२६ प्रतिशत)मत बदर भएको थियो । विजयी बनेका बुर्लाकोटीले सदर मतको ४९ प्रतिशत मत प्राप्त गरेका हुन् ।

बुर्लाकोटीले प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेद्वार प्रकाशचन्द्र दवाडीले भन्दा .१४ हजार ९६० बढि मत प्राप्त गरेका छन् । दवाडीले ११ हजार ७०० मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरेका थिए । अर्का प्रतिस्पर्धी नेकपा एमालेका मिलन गुरुङ(चक्रे मिलन)ले ३ हजार ८७ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित बुर्लाकोटी राष्ट्रिय स्वतन्त्र पार्टी जन्माउने सक्रिय सदस्यमध्य एक हुन् । २०७९ असारमा पार्टी स्थापना हुँदा उनी केन्द्रीय सदस्य थिए भने दुई महिनामै सहमहामन्त्री र दुईबर्षमै महामन्त्री बन्न सफल भएका थिए ।
अहिले पनि उनी रास्वपाका महामन्त्री हुन् ।

उनको जन्म बि.सं. २०३६ मंसीरमा बुबा राजाराम र आमा डम्मरकुमारी बुर्लाकोटीको सन्तानका रुपमा धादिङको सल्यानटारमा भएको थियो । पाँचबर्षको उमेरमा गोरखाको पालुङ्टार ९ मा बसाइ सरी आएका उनको अभिभावकले उनलाई धर्मोदय माविमा कक्षा १ मा भर्ना गरिदिए । दुई कक्षासम्म त्यहाँ अध्ययन गरीसकी कक्षा ५ सम्मको अध्ययन मदनेडाँडा माविबाट पूरा गरे । गोरखा नगरपालिका १२ स्थित महेन्द्र मावि कुन्दुरटारबाट एसएलसी तह पूरा गरेपछि नयाँ जीवनको सुरुवात गर्न उनी काठमाडौ प्रवेश गरे ।

दयनीय आर्थिक अबस्थाबाट गुज्रिएका उनी एसएलसी उतीर्ण गरेपछि सरस्वती क्याम्पसमा कमर्श पढ्न सुरु गर्छन् । कलिलो उमेरमा काठमाडौं हातमुख जोर्न र पढाइ खर्च जुटाउन प्रवीणता प्रमाणपत्र तह पढ्दा उनको जीवनकै सबैभन्दा ज्यादै कष्टकर समय बित्छ । ‘बिहान दिउसो काम गरेर कलेजचाहिँ राती पढेको हो’, उनी भन्छन् ।

स्नातक तह अध्ययन गर्ने सिलसिलामा भने उनी युवा सशक्तिकरणका विभिन्न अभियानको संगतमा पुग्छन् । फाइनान्समा स्नातकोत्तर गरेका उनले अस्ट्रेलियाको न्यू साउथवेल्स युनिभर्सिटीबाट ह्युमनराइट्स एण्ड बिजनेश कोर्श अध्ययन गर्छन् ।
मलेशियाको आइकम इन्स्टिच्यूटबाट उनले ‘युथ लिडरसीप’ कोर्श पूरा गरेका छन् ।

त्यसपछि २०५७ सालमा उनले भ्रष्टाचार विरोधी गतिविधि गर्ने संस्था युनाइटेड युथ नामक संस्था दर्ता गरी संस्थापक अध्यक्ष पदमा रहेर युवा सशक्तिकरण अभियान सुरु गर्छन् । त्यसपछि २०६४ सालमा उनकै नेतृत्वमा देशभरका युवाहरुको संस्थाहरुको सञ्जाल ‘नेपाल युवा संस्था सञ्जाल’ गठन हुन्छ । संस्थापक सचिव तथा पछि अध्यक्षसमेत रहेर उनी सक्रिय रहे ।
यी संस्थाहरु अनुसन्धानमा आधारित थिए ।

त्यसलगत्तै उनले २०६९ सालतिर फेरि अर्को युवाहरुको छाता संस्था ‘राष्ट्रिय युवा महासंघ’ दर्ता गरे । यसमा देशभरकै युवा संस्थाहरु आवद्ध थिए । उनी संस्थापक अध्यक्ष भए । यो युवा सशक्तिकरण सम्बन्धी काम गर्ने संस्था हो । ‘यो महासंघमा आवद्ध रहेका धेरै युवाहरु अहिले मसंगै सांसद भएका छन्’, उनी भन्छन्, ‘यही बीचमा संयुक्त राष्ट्र संघको नेपाल च्याप्टरको युथ एड्भाइजर भएर सन् २००८ देखि २०१२ सम्म काम गरेँ । एउटा बेसाएर खाने गरिब परिवेशमा गुज्रिएको म पछि युवा गतिविधिमा सरिक भएँ । ३० वटा देश घुम्ने मौका पाएँ ।’

युवा सशक्तिकरण अभियानमा लाग्ने क्रममा उनी रवि लामिछानेको सम्पर्कमा पुग्छन् । ‘अमेरिकाको पाँचबर्षको भिसा थियो, तर एक पटक पनि अमेरिका नगई देशभित्रै विभिन्न गतिविधिमा लागेँ । त्यो गरिबीमा गुज्रिएको ३५ बर्षभन्दा कम उमेरको म एक पटक पनि अमेरिका नगई बसेँ । राजनीतिबाटै देश परिवर्तन गर्न सकिन्छ भन्ने हुटहुटी थियो । रवि लामिछानेजीले दुईबर्षअघिदेखि राजनीति गर्ने गृहकार्यमा हुनुहुन्थ्यो । मचाहिँ पार्टी गठन हुनु दुई महिनाअघिदेखि मात्र त्यो अभियानमा जोडिन पुगेँ’, बुर्लाकोटी भन्छन्, ‘त्यसैले पार्टी गठन भएको दुई महिनामै सहमहामन्त्री बन्न पुगेँ । पार्टी असाध्यै अप्ठ्यारो परिस्थितिमा हुँदाखेरी धेरै खटेर काम गरेका हुँदा दुई बर्षभित्र महामन्त्री भएँ ।’

पार्टीका लागि ज्युज्यान दिएको प्रतिफल अहिले देश घण्टीमय भएको उनको बुझाइ छ । अहिले देशभरका नागरिकहरुको रोजाइमा राष्ट्रिय स्वतन्त्र पार्टी पर्नुका पछाडि आफूहरुको इमान्दारिता, क्षमता, दक्षता भएको उनको भनाइ छ । ‘पुरानासंग आजित भएकाहरुले नयाँ रोज्ने क्रममा हामीलाई रोजेको भन्ने हो भने नयाँ पार्टी त जति पनि थिए तर हामीमै किन यति धेरै विश्वास र भरोसा भयो भने हामीमा कामगर्न सक्ने क्षमता छ भनेर सबैले बुझेका छन्’, उनी भन्छन्, ‘अब यो विश्वास र भरोसालाई सदा सर्वदाका लागि टिकाइराख्नु हाम्रो चुनौति हो ।’

प्रतिक्रिया दिनुहोस्