| शनिबार, अशोज ९, २०८३

राष्ट्रपति रनिङ शिल्ड : सिरानचोकको उपाधी महेन्द्र लिलालाई, बारपाकमा हिमालय मावि विजयी

जिल्लाका दुई पालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतवार सम्पन्न भएको छ । सिरानचोक र बारपाक सुलिकोट गाउँपालिकामा भएको प्रतियोगिता अन्तरगतको फाइनल खेल आइतवार सम्पन्न भएको हो ।

सिरानचोक गाउँपालिकाको प्रतियोगिताको उपाधी महेन्द्र लिला माविले हात पारेको छ । १५ विधामा भएका खेलमा ८ स्वर्ण, ३ रजत र ४ कास्य पदक जित्दै महेन्द्र लिलाले उपाधी जितेको हो । विजेता विद्यालयले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै प्रतियोगितामा ६ स्वर्ण, ४ रजत र ३ कास्य पदक जितेर परोपकार मावि दोस्रो र ४ स्वर्ण, ५ रजत र ३ कास्य पदक जितेर जनकल्याण मावि तेस्रो बनेको छ ।

३ स्वर्णसहित २ रजत र ४ कास्य जितेर धर्मावती मावि सान्त्वना बनेको पालिकाको शिक्षा शाखा प्रमुख शुशिल नरालले बताए ।प्रतियोगितामा पालिका भित्रका १६ वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएको उनले जानकारी दिए । शुक्रबारबाट सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए ।

यस्तै, बारपाक सुलिकोट गाउँपालिकामा भएको प्रतियोगिताको उपाधी हिमालय मावि बारपाकले जितेको छ । विभिन्न विधामा भएको खेलमा ११ स्वर्ण, ९ रजत र ३ कास्य पदक जित्दै हिमालय माविले उपाधी जितेको शिक्षा शाखाकी पवित्रा शर्माले बताइन् । उपाधी विजेता बिद्यालयले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ६ कास्य पदक जितेर ताकुकोटस्थित सुर्यज्योति मावि दोस्रो र ८ स्वर्ण, ७ रजत र ५ कास्य पदक जितेर स्वाँरास्थित माँझथर मावि तेस्रो बनेको छ । प्रतियोगितामा पालिकाभित्रका १४ वटा माध्यमिक विद्यालयहरुले सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्