
यसवर्ष गोरखामा ५५ किलोमिटर कालोपत्रे सडक थपियो
गोरखामा यसबर्ष करिब ५५ किलोमिटर कालोपत्रे सडक थपिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभर ५४.६ किलोमिटर कालोपत्रे सडक थप भएको हो । सबैभन्दा धेरै सडक गोरखा सडक योजना कार्यालयले कालोपत्रे गरेको छ ।
सो कार्यालयले जिल्लाका २२ किलोमिटर सडक यसवर्ष कालोपत्रे गरेको हो । कार्यालयले जिल्लाको विभिन्न स्थानमा सडक कालोपत्रेसहित नाला निर्माण, ढलान, वाल निर्माणको काम गरेको कार्यालयका सूचना अधिकारी आशिक रिजालले बताए । ‘सडक ग्राभेल गर्ने, नाला बनाउने र कालोपत्रे गर्ने क्रम अझै चलिरहेको छ । काम गर्दै जाँदा कुनै वर्ष कालोपत्रे गर्ने क्रम बढी हुन्छ, कुनै बेला कम । तर, कामहरु भने भैरहेको छ’, उनले भने ।
जिल्लामा सडक योजना कार्यालयपछि सबैभन्दा धेरै किलोमिटर सडक पूर्वधार विकास कार्यालय हो । सो कार्यालयले यसवर्ष जिल्लाभर २०.६ किलोमिटर सडक कालोपत्रे गरेको कार्यालयकी सूचना अधिकारी शर्मिला थापाले जानकारी दिइन् ।
यस्तै, मध्यपहाडी लोकमार्गको गोरखा खण्डमा यसवर्ष ६ किलोमिटर सडक कालोपत्रे भएको त्यहाँका इन्जिनियर गोबिन्द श्रेष्ठले बताएका छन् ।
स्थानीय पूर्वधार विकास आयोजना कार्यालय, पोखराले जिल्लाको पालुङ्टार नगरपालिकामा सडक कालोपत्रे गरेको छ । कार्यालयका इन्जिनियर सरोज आचार्यका अनुसार कार्यालयले यसवर्ष जिल्लाको पालुङटार नगरपालिकामा साडे दुई किलोमिटर सडक कालोपत्रे गरेको हो ।
यसैगरी, आर्थिक वर्ष २०८१/०८२ मा सहिदलखन गाउँपालिकाले पालिकाको बजेटमा साडे तीनकिलोमिटर सडक कालोपत्रे गरेको छ । पालिकाको १० करोड बजेटमा नामजुङ्ग घैरुङ सडकको साढेँ तीनकिलोमिटर खण्ड कालोपत्रे गरेको गाउँपालिकाका इन्जिनियर राजन रानाभाटले जनाए ।




