
स्ववियु निर्वाचनमा गठबन्धन गर्नु हुँदैन्ः अध्यक्ष बडाल
सत्तारुढ नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले स्ववियु निर्वाचनमा शिक्षालयमा गठबन्धन गर्न नहुने मान्यतामा आफ्नो संगठन रहेको बताएका छन । स्ववियु निर्वाचन सम्वन्धी रणनिति तयार गर्न अनेरास्ववियुले गरेको गण्डकी प्रदेश स्तरीय कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष बडालले स्ववियु निर्वाचन विद्यार्थीहरुले लोकतन्त्रको अभ्यास गर्ने थलो भएकोले सबै मिलेर निर्वाचन सफल गराउनुपर्ने बताए । अर्को एक प्रसंगमा अनेरास्ववियु अध्यक्ष बडालले भने–विश्वविद्यालयको पाठ्यक्रम प्राध्यापकहरुले जागिर खानका लागि मात्र नभई समय अनुकुल हुनुपर्छ ।
अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष प्रबिन श्रेष्ठको सभापतित्वमा भएको कार्यशालामा एमाले केन्द्रीय सदस्य एवं विद्यार्थी इन्चार्ज किशोरविक्रम मल्ल, एमाले गण्डकी प्रदेशका सचिव एवं जनसंगठन संयन्त्र समन्वय प्रमुख धनन्जय दवाडी लगायतले मन्तव्य राखेका थिए । कार्यशालामा अनेरास्ववियु केन्द्रीय सचिवद्वय प्रकाश पौडेल र आर्शीवाद सुवेदीले सहजीकरण गरेका थिए । कार्यशालामा ११ वटा जिल्लाका पार्टीका तर्फबाट जनसंगठन संयन्त्र समन्वय प्रमुख ,विद्यार्थी फाट प्रमुख, सहित अनेरास्ववियु जिल्ला इन्चार्ज र अध्यक्षहरु गरी ७० जना नेता कार्यकर्ताहरु सहभागीता रहेको प्रदेश अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिए ।




