
गत बर्ष गोरखाको बजेटप्रति म सन्तुष्ट थिइन : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघिल्लो बर्ष गोरखामा अपेक्षा अनुसारको बजेट विनियोजन गर्न नसकेको बताए । बिहीवार पालुङटार नगरपालिका–८ धुवाकोटमा कार्यकर्ता भेटघाट गर्दै उनले सो कुरा बताएका हुन् ।
‘अघिल्लो बर्ष म जनप्रतिनिधीको हिसावले बजेटमा जति व्यवस्था गर्नुपर्ने त्यति पर्न नसकेको गुनासो थियो, म पनि सन्तुष्ट थिइन,’ उनले भने, ‘तर यो बर्ष धेरै योजना र बजेट परेको छ ।’ उक्त बजेट कार्यान्वयन हुन नपाउँदै आफू सरकारबाट बाहिरिनु परेको भन्दै उनले उक्त बजेट कार्यान्वयन हुनेमा आफू आशावादी रहेको बताए । यो बर्ष पालुङटार नगरपालिकालाई प्राथमिकतामा राखेर बजेट पारिएको उनले जानकारी दिए ।
चुनावअघि आफूले गरेको प्रतिवद्धताहरु पुरा गर्ने उनले आश्वासन समेत दिए । भने, ‘मैले चुनाव लड्ने बेला यहाँको धुलोबाटोलाई पाँच बर्षभित्र पिच बनाउछु भनेर भनेको थिए, आज आउँदै गर्दा यहाँ त धुलो यस्तो रहेछ की अगाडीको गाडी नै नदेखिने गरीकन धुलो हुदो रहेछ । त्यसकारण मेरो ध्यान पुरै गएको छ,’ उनले भने । उक्त बाटोलाई कालोपत्रे गर्न आफ्नो ठाउँबाट पलह गर्ने उनले बताए ।
उक्त गाउँमा जनयुद्ध सुरु गर्नुअघि अन्तिम केन्द्रिय समितिको बैठक बसेको र हेडक्वाटर खडा गरेर तालिमदेखि प्राविधिक काम सबै भएको उनले स्मरण गरे । पुर्व प्रधानमन्त्री समेत रहेका उनले पालुङटारमा बिहीवारबाट सुरु भएको चौथो मिरकोट कोटगढी महोत्सवको उद्घाटन समेत गरेका छन् ।




