
नेसपा (नयाँशक्ति)को केन्द्रीय समितिमा गोरखाबाट अध्यक्षसहित १५ जना
नेपाल समाजवादी पार्टी(नयाँशक्ति) को बिहिबार सम्पन्न पहिलो अधिवेशनबाट अध्यक्षसहित र १४ जना केन्द्रीय सदस्य गोरखाबाट निर्वाचित भएका छन् । डाक्टर बाबुराम भट्टराईको नेतृत्वको ९९ सदस्यीय समितिमा गोरखा स्थायी घर भएका १४ जना सदस्य निर्वाचित भएका हुन् ।
जसमा खुल्ला सदस्यबाट सबैभन्दा धेरै मत ल्याई फणिन्द्र देवकोटा विजयी भएका छन् । खसआर्य सदस्यमा सबैभन्दा धेरै मत ल्याई यानप्रसाद भट्ट विजयी भएका छन् । खुल्ला सदस्यमै रोशन पोखरेल, रोहिणीप्रसाद पाण्डे(रोहित), ज्योति कोइराला र विकास लामिछाने निर्वाचित भएका छन् ।
त्यस्तै खस आर्य महिला सदस्यतर्फ इन्दिरा बस्ताकोटी, युवा सदस्यमा रुपनारायण श्रेष्ठ, राजेश आले, जनजाति महिला सदस्यमा सानु गुरुङ, दलित महिला कोटाबाट सञ्जु भट्ट नेपाली, दलित कोटाबाट लालबहादुर बिक, राधुराम नेपाली र प्रदेश महिला सदस्यमा नारायणी अधिकारी निर्वाचित भएका छन् । निर्वाचित सबैजनाले बिहिबार साँझ अध्यक्ष डाक्टर भट्टराईबाट सपथ ग्रहण गरेका छन् ।




