| मङ्लबार, कार्तिक २४, २०८३

माओवादीका जनप्रतिनिधीले दलिय विभेद गरेको भन्दै कांग्रेसको आपत्ति

माओवादीले जितेको स्थानीय तहका जनप्रतिनिधीले नागरिकलाई दलिय हिसावले विभेद गर्ने गरेको भन्दै कांग्रेस गोरखाले आपत्ति जनाएको छ । सामान्य सिफारिसदेखि बिकासको बजेट विनियोजनसम्म दलिय हिसावले बिभेद गर्ने गरेको पाइएको कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानले बताए । बिहीवार कांग्रेसले जिल्लामा संचालन गरेको सय दिने अभियानको समापन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

‘हाम्रो साथीहरुले जितेको पालिकामा कुनै बिभेद छैन, पार्टी हेरेर नभई आम नागरिकको आवश्यकताको आधारमा बजेट विनियोजन गरेका छौ,’ उनले भने, ‘तर माओवादीले जितेको कतिपय वडामा दलिय हिसावले विभेद गर्ने, सामान्य सिफारिस लिन जाँदा उसकै दलको कार्यकर्ता भए मात्र बनाइदिने, पालिकामा कुनै शिक्षक आयोग पास गरेर पढाउन गयो भने पार्टीको सदस्यता लिनुपर्ने र कुनै बिकास माग्न जाँदा माओवादी नै हुनुपर्ने प्रवृति देखियो । यो प्रति नेपाली कांग्रेसको गम्भिर ध्यानाकर्षण भएको छ ।’

अजिरकोट गाउँपालिकाले दलको झण्डा र आन्दोलन राखेर स्थानीय पाठ्यक्रम बनाएको प्रति पनि गम्भिर ध्यानाकर्षण भएको उनले बताए । स्थानीय पाठ्यक्रममा दलको आन्दोलन जस्ता बिषयलाई समावेश गरी बालबालिकालाई मनोवैज्ञानिक हिसावले युद्धतर्फ प्रेरित गर्न खोजेको भन्दै उनले आपत्ति जनाए ।

दलगतभन्दा पनि जनतालाई केन्द्रमा राखेर काम गर्न माओवादीका जनप्रतिनिधीलाई उनले सुझाव समेत दिएका छन् । ‘उहाहरुले विनियोजन गर्ने बजेट माओवादी पार्टीको पैसा होइन, नेपाल सरकार र नेपाली नागरिकको पैसा हो,’ न्यौपानेले भने, ‘माओवादी अध्यक्ष प्रचण्डले दिएर बाडेको पैसा पनि होइने, बिकासप्रति हेर्ने दृष्टिकोण समान पाएनौ, त्यसप्रति हामी आवाज पनि उठाउँछौ र सुधारका लागि आग्रह पनि गर्छाै ।’

अभियानको क्रममा वडामा कार्यकर्ताबीच देखिएको मनमुटावलाई सहजिकरण गरेर हल गरिएको उनले बताए । अभियानकै क्रममा करिव चार सय जना पार्टी प्रवेश गरेको बताउँदै उनले तीन पुस्ता कांग्रेस नेता कार्यकर्ताबीच भेटघाट र छलफल समेत भएको जानकारी गराए । उनका अनुसार प्रत्येक वडामा एक लाख रकम बराबरको कोष समेत स्थापना हुने भएको छ ।

यसअघि पार्टीको नीति विपरित कार्य गरेर कारवाहीमा परेकाहरुको कारवाही फुकुवा समेत गरिएको कांग्रेस गोरखाले जनाएको छ । कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रिय सदस्य सरस्वती अर्यालले दुई वटा प्रधानमन्त्री पाइसकेको जिल्लामा जुन किसिमको बिकास हुनुपर्ने त्यो नदेखिएको बताइन् । चुनावअघि प्रचण्डले पालुङटार एयरपोर्ट र गोरखकाली रवर उद्योग संचालनमा ल्याउने आश्वासन दिएपनि त्यो पूरा नगरेको उनले टिप्पणी गरिन् । बुढीगण्डकी जलबिद्युत आयोजना निर्माणमा पनि चासो नदिएको भन्दै उनले आपत्ति जनाइन् ।

प्रतिक्रिया दिनुहोस्