| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाको विकासलाई ठुला नेताबाट असहयोग भइरहेको छ : भट्टराई

पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँशक्ति)का संयोजक डा. बाबुराम भट्टराइले गोरखाको विकासमा ठुला नेताबाट असहयोग भएको बताएका छन् । सोमवार गृह जिल्लामा पत्रकारसँग भेट गर्दै उनले बुढीगण्डकी आयोजनालाई एउटा सहायक कम्पनीको रुपमा मात्र लान खोजिएको बताए ।

‘बुढीगण्डकी आयोजना जलाशययुक्त योजना भएकाले पर्यटन, उद्योग, पुनर्वास लगायतको एकीकृत योजना भनेर बनाइएको थियो,’ उनले भने, ‘तर त्यसलाई पछिल्लो सरकार खासगरी प्रचण्ड नेतृत्वको सरकारले बिद्युत उत्पादन मात्र बनाउने र बिदेशीलाई दिने निर्णय ग¥यो ।’

आलोचना भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल आफैले बनाउने निर्णय गरेपनि अहिले उक्त आयोजनालाई एउटा सहायक कम्पनीको रुपमा लान खोजिएको भन्दै उनले असन्तुष्टी व्यक्त गरे । उनले भने, ‘अहिले बुढीगण्डकीलाई एउटा सहायक कम्पनीको रुपमा लान खोज्नुभएको छ, त्यो भनेको बुढीगण्डकी नबन्ने भन्ने हो ।’

आफू प्रधानमन्त्री हुदाँ पालुङटारलाई औद्योगिक क्षेत्र बनाउने नितीगत निर्णय गरेपनि हालसम्म काम अघि नबढेको भन्दै उनले चिन्ता व्यक्त गरे । उत्तरी गोरखामा साहसिक पर्यटनको अवधारणा र खाका तयार गरेपनि कार्यान्वयन नभएको र आरुघाट लार्के सडक सरकारको प्राथमिकतामा नपरेको भन्दै उनले दुखेसो पोखे । जिल्लाको विकासलाई ठुला नेताहरुबाटै असहयोग भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्