
गोरखा–५ मा सबै पार्टीले तोके चुनावी कमाण्डर
गण्डकी प्रदेशमा उपनिर्वाचन हुन लागेको एकमात्र ठाउँ गोरखा नगरपालिका वडा नम्बर ५ मा सबै प्रमुख पार्टीले चुनावी कमाण्डर तोकेका छन् । यही मंसीर १६ गते हुने वडाअध्यक्षको उपनिर्वाचनका लागि कांग्रेस, एमाले, माओवादी, रास्वपा, नेसपा लगायतका पार्टीले चुनावी कमाण्डर तोकेका हुन् ।
नेपाली कांग्रेसले राजनराज पन्तलाई निर्वाचन परिचालन समिति संयोजक तोकेको छ । पूर्व मेयर, पार्टीका जिल्ला सदस्य एवं महासमिति सदस्य समेत रहेका पन्त गोरखा नगरपालिकाका निवर्तमान मेयर समेत हुन् । केहीदिन अघि बसेको पार्टी जिल्ला पदाधिकारी बैठकले उनलाई निर्वाचन परिचालन समिति संयोजक बनाउने निर्णय गरेको हो ।
एमालेले पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र थापालाई निर्वाचन परिचालन कमिटि संयोजक बनाएको छ । गत कात्तिक २१ गते बसेको पार्टी सचिवालय बैठकले थापा संयोजकत्वको निर्वाचन परिचालन कमिटि निर्माण गर्ने निर्णय गरेको हो । एमालेले यसअघिका वडाध्यक्ष स्व. खिलबहादुर रानाकी श्रीमती दुर्गा माया थापा रानालाई उम्मेदवार बनाएको छ ।
माओवादी केन्द्रले रामशरण वानियालाई चुनाव परिचालन समिति संयोजक तोकेको छ । पार्टी सल्लाहकार समेत रहेका वाँनियालाई केही दिनअघि पार्टीले संयोजक बनाउने निर्णय गरेको हो । चुनावको लागि पार्टीको तर्फबाट उम्मेदवार बन्नेमा उनको नाम पनि चर्चामा थियो । तर रानाले टिकट पाएपछि उनलाई चुनाव परिचालन समिति संयोजक बनाइएको हो ।
नेपाल समाजवादी पार्टीले नारायण खत्रीलाई निर्वाचन परिचालन समिति संयोजक तोकेको छ । सोमवार बसेको पार्टीको जिल्ला समन्वय समिति बैठकले उनलाई संयोजक तोक्ने निर्णय गरेको हो । खत्री पार्टीको राष्ट्रिय भेला आयोजक समिति सदस्य हुन् ।
मनोनयन दर्ता गरएका अन्य दलहरुले पनि निर्वाचन परिचालन समिति संयोजक तोकिसकिएको जनाएको छ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कुल दश जनाले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले हरिशरण आचार्यलाई चुनावी कमाण्डर तोकेको छ । रास्वपाले गत निर्वाचनमा एमालेबाट वडा सदस्यका प्रत्यासी मंगलबहादुर थापालाई उम्मेदवार बनाएको छ । निर्वाचनमा मंगलबहादुरलाई जिताउन गण्डकी प्रदेशका तत्कालीन ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री आचार्यलाई चुनावी कमाण्डर तोकेको रास्वपा गण्डकीका सभापति राजन गौतमले जानकारी दिए । तत्कालीन बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबाट सांसद जितेर गण्डकीको मन्त्री बनेका आचार्यले २०७९ को निर्वाचनअघि रास्वपा प्रवेश गरेका थिए ।
घुम्दै फिर्दै रास्वपमा कसरी ? भन्ने प्रश्नमा उनले भने, ‘म माओवादी थिएँ कुनै बेला । देशको राजनीति र समाज परिवर्तनका लागि त्यति बेला माओवादी आन्दोलनमा लागियो । पछि माओवादी आन्दोलन बिकृत हुदै गयो । राजनीतिक रुपमा बिकृत हुदैँ गएपछि यो पार्टीले पनि गरिखाँदैन भनेर नयाँ बिकल्प हामीले खोज्यौ । डा. बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण गर्दा म फेरि त्यसको बिकल्प हुनसक्छ भनेर नयाँ शक्ति पार्टी निर्माण अभियानमा लागे । पछि बाबुराम भट्टराईले जब आफ्नो स्वार्थका निम्ति प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र सुम्पिए मैले बाध्य भएर अर्काे बिकल्प रोजेको हुँ, त्यो रास्वपा हो ।’
चुनावमा टिकट नपाएपछि रास्वपामा जानुभएको भन्ने आरोपको खण्डन गर्दै उनले सो कुरा गलत भएको बताए । उनले भने, ‘टिकट पाउने नपाउने भन्दापनि स्वतन्त्र उम्मेदवारी दिन पाउने अधिकार पनि थियो, तर टिकट नपाएर मैले रास्वपा प्रवेश गरेको भन्ने झुठ हो ।’




