
भोजपुरका राई ४० बर्षदेखि गोरखाको भालुवनमा,
शिव उप्रेती :
भन्छन्, : उता सबै बिर्सिसक्यो, अब फर्कन्न
भोजपुरका तीर्थबहादुर राईले घर ब्यबहार देखेर वाक्क भई १५ बर्षकै उमेरमा गाउँ छाडे । आमचोक गाउँपालिका ८ दुङ्मानाका राईले गाउँ छाडेको अहिले ठ्याक्कै ४० बर्ष पूरा भयो । अहिले उनी उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ३ भालुवनको अनकण्टारमा रमाइरहेका छन् ।
बूढीगण्डकीको किनारै किनार गएपछि पुगिन्छ जगत । जगतबाट झण्डै एकघण्टा पखेराको उकालो हिँडेपछि भालुवन पुगिन्छ । भालुवनबाट पनि झण्डै एकघण्टा उकालो खोरिया हिँडेपछि जंगलको फेदमा उनीहरुको घर छ । एकलास को काठले बारेको सो घरमा बस्छन्, ठूले राई, श्रीमती कान्छी अनि छोरी सिर्जना ।
छोरा युवराज लाई कसैले पढाउन दमौली लगेको छ ।
बुबाले श्रीमती ल्याएर नथाकेपछि बिरक्तिएर उनले घर छाडेका हुन् । पहिलो बेगमा उनी काठमाडौँ पुगे । त्यहाँ रोजीरोटी खोज्दै सुरुमा जोरपाटीको गार्मेण्ट उद्योगमा काम गरे । त्यहाँ मासिक सुख्खा ६०० रुपैयाँको जागिर पाए । पछि तलब राम्रो पाइन्छ कि भन्दै अत्तरखेल, महाङ्काल, सातदोबाटो, लुभु, भक्तपुरका गार्मेण्टहरु चाहारे ।
आठ नौ बर्ष जति गार्मेण्ट उद्योग चाहारेपछि उनलाई पर्यटकको भारी बोकेर थोराङपास जाने काम मिल्यो । मस्र्याङ्दीको किनारै किनार मनाङ छिचोलेर मुस्ताङ निस्कने रुटमा भारी बोकेबापत दिनको सुख्खा २५० रुपैयाँ पाइन्थ्यो । महिनाको ६०० भन्दा दिनको २५० ले तानेपछि उनले काठमाडौँबाट पनि बेग हाने ।
उनले बोकेको मट्टितेलको भारी मनाङ बगरछाप पुगेपछि सिद्धियो । ‘मट्टितेलको भारी बोकेर गाथ्यो । क्यामैपिच्छे स्टोभहरु बाल्दै बाल्दै गएपछि भारी सिद्धियो’, उनले भने, ‘त्यसपछि मेरो काम पनि सिद्धियो । मान्छेहरुले बगरछापमा होटलहरु बनाइरहेको देखेँ । म पनि काम पाइन्छ कि भन्दै त्यतै लागेँ ।
अनि काठ चिर्न थालेँ । धारापानी, बगरछाप, डिस्याङ, थोँचे, सानो मनाङ, च्याम्चेमा आठबर्षजति काठ चिरेरै बिताएँ ।’ त्यसपछि सुरु भयो हिमाली अनकण्टार गाउँबस्तीमा रमाउने दिन ।
जन्मथलो बिर्सिएर बहक्किएका ठूले राई घर बनाउने काम खोज्दै फेरि कास्कीको सिक्लेसतिर बेग हाने । त्यहाँ पनि तीनबर्षजति रुख ढाल्ने र काठ चिर्ने काम गरे । फेरि फर्किए मनाङ, लम्जुङतिरै ।
च्याम्चेमा रमाइलो संयोग मिल्यो, जसले उनको निरस जिन्दगीलाई रसिलो बनायो ।
गोरखा लाप्राकका ज्यामीहरु च्याम्चेमा होटल बनाउन जाने गर्थे । दाइको पछि लागेर लाप्राककी कान्छी गुरुङ पनि घर बनाउने काम गर्न पुगेकी थिइन् । त्यहाँ ठूले राई र कान्छी गुरुङको चिनजान, बोलचाल, हिमचिम बाक्लिँदै गयो । एकबर्ष संगसंगै काम गरेपछि उनीहरु एकले अर्कालाई अपनाए । ठूले कान्छीभन्दा ७ बर्षले ठूला नै थिए । ‘बिहे गर्दा म २९ बर्षको थिएँ । यो १९ बर्षको थिई’, उनले भने ।
अब उनीहरुलाई दाइले काम गरेको ठाउँ वरिपरि बसिरहन मिलेन । अनि लार्केपास गरेर गोरखाको हिमाली गाउँ ल्हो पुगे । ल्होमा रिपुम गुम्बा निर्माणको काम चलिरहेको थियो । उनीहरुले त्यहीँ काम समाते । त्यहाँ पनि सँधै काम पाइएन । ‘असार १ गते हामी ल्हो आइपुगेको हो । मंसीरमा दोभान झ¥यौँ’, ४८ बर्षकी कान्छीले थपिन्, ‘दोभानमा नि होटल बनाउने ठाउँमा काठ चिर्न थाल्यौँ । दोभानमा काम गर्दागर्दा जगतबगरको विशालले होटलको काठ चिर्न बोलायो । अनि त्यहाँ काम गर्न आयौँ ।’
जगतमा काम गर्दैगर्दा उनीहरुलाई भालुवनमा खोरिया फाँडेर घर बनाउने जग्गा मिल्यो । दर्तावाल खोरिया फाँडेर टहरो बनाए । भुइँचालोले भत्काइदियो ।
सरकारी अनुदानले फेरि अर्को टहरो बनाए । ‘यहाँ त घर मात्र हो । पखेरामा आठ, दस थुन्से मकै आउँछ । हामीले यसको भाडा पनि तिर्न पर्दैन, तिरो पनि साहुले नै तिर्छन् । हामीले त यस्सो केही काम परेका बेला साहुलाई सघाइदिए हुन्छ’, राईले भने, ‘यसको आम्दानीले त एक महिना पनि खान पुग्दैन । बाहै्र महिना ज्याला मजदुरी गरेर खाने हो ।’
५५ बर्षका ठूले राईलाई आफ्नोभन्दा चिन्ता छोरीको छ ।
२७ बर्षकी छोरी सिर्जना मुटुको रोगी छिन् । धेरै खर्च गरेर मुटुको भल्भ फेरेर ल्याएको त हो, तर अझै निदान भएको छैन । निरन्तरको औषधीले धानेको छ उनलाई । ओखती किन्ने खर्च पनि कहाँ पाउने ? पाखुरामा बल छउञ्जेल भीर पखेरामा दस नङ्ग्रा खियाएर जसोतसो हात मुख जोर्न पुग्छ । तर बुढेसकालमा कसरी पेट पाल्ने अन्यौल छ ।
जति हण्डर ठक्कर खाएपनि उनलाई जन्मथलो फर्कन मन छैन । घर छोडेको ४० बर्षमा दुईफेर गाउँ फर्केका छन् । ‘बाउले कान्छी लिएर बस्यो । आमा अर्को बुढा टिपेर गयो’, दिक्क मान्दै उनी भन्छन्, ‘आफ्नो घर पनि छैन, आफ्नो भन्ने मान्छे कोही पनि छैन । बापट्टि पनि बाटो बाङ्गो प¥यो, आमापट्टि पनि बाटो बाङ्गो प¥यो । कसको मुख हेर्न जाने ?’
ठूलेमात्र होइन, कान्छी यतै नजिकै पर्ने माइत पनि गएकी छैनन् । ‘बिहे दर्ता गर्न जन्मदर्ता चाहिन्छ भन्या भएर उहिल्यै एकफेर गा’थेँ । त्यसपछि गा’छैन’, उनले भनिन्, ‘अहिलेसम्म नागरिकता पनि बनाएको छैन ।’
राईका बाले लगालग तीनवटीसंग बिहे गरे । उनी माइली पट्टिका हुन् । माहिलीपट्टिको भए पनि आफू सबैभन्दा जेठो छोरो भएको उनी बताउँछन् । ‘बाउका पाँचभाइ छोराहरुमा म जेठो हो’, उनले भने, ‘एउटा म¥यो । अहिले चारजना छम् । हाम्रो आमापट्टि एउटा बहिनी थिई । उ पनि बिहे गरेर कता पुगी थाहापत्तो छैन ।’ सत्र, अठारबर्षअघि एकफेर गाउँ जाँदा फुपूहरुसंग बहिनीको मोबाइल नम्बर मागेर ल्याए पनि बहिनीसंग सम्पर्क नगरेको उनको भनाइ छ । ‘धरानतिर बिहे गरेर गा’छ भन्थे । भेट्न सकिन । नम्बर पनि कता हरायो । कुरा पनि हुन पाछैन’, उनी भन्छन्, ‘माया मा¥यो अब त्यो ठाउँको ।’
अहिले राई दम्पत्ति सिकर्मी, डकर्मी काम गर्छन् । ‘म मिस्त्री, उ लेबर । दुवैजना मिलेर सिकर्मी, डकर्मी काम गर्छौँ’, राई भन्छन्, ‘हाम्रो जिन्दगी नै जेलामा बित्यो ।’ भोजपुर फर्केर पनि सुख देखेका छैनन् । ‘भोजपुरमा पनि काम पाउँदैन । त्यहाँबाट पनि सप्पै इण्डियातिर गएका छन् ।
कोही नागाल्याण्ड, कोही मेघालय, कोही मिजुराम, कोइलाखानीतिर जान्छन् । मलाईचाहिँ नेपालतिरै काम गर्न ठिक लाग्यो’, उनी भन्छन्, ‘यता नआउँदै एकफेर म पनि मेघालयसम्म पुगेको थिएँ । तर त्यताभन्दा नेपालमै काम गर्नु ठिक लाग्यो । उता गए पनि काठ काट्ने, बोक्ने, यता पनि त्यही त हो । जहाँ गए पनि दुखै गर्ने हो, किन जाने विदेश ।’ लामो समयदेखि गुरुङहरुको माझमा बसे पनि थर भने फेरेका छैनन् । ‘आधा जिन्दगी त यतै गइसक्यो । अब के फर्कनु छ र भोजपुर’, उनले भने, ‘गैयलाजस्तो छैन । यतै घुलमिल भयो । सबै चिनापर्ची भयो । जोश, जाँगरको उमेर यता बिताएर अब बुढो भएपछि के जानु भोजपुर ।’




