
केरौँजा माविमा छात्रावास भवन उद्घाटन, विद्यार्थीहरुलाई स्वीटर वितरण
दसकौँ अघिदेखि धार्चेको शिक्षा क्षेत्रमा काम गरिरहेको लेलामी द लाप्राक नाम संस्थाले स्थानीय गैरसरकारी संस्था गणेश हिमाल एशोसिएशनसंग समन्वय गरी विभिन्न शैक्षिक कार्यक्रम गरेको छ । यसबर्ष गत दशैंअघिदेखि धार्चेका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो स्वीटर वितरण गरिरहेको गणेश हिमाल एशोसिएशनले वडा नं. –२ केरौँजास्थित केरौँजा माविका विद्यार्थीहरुलाई पनि जाडोमा लगाउने न्यानो स्वीटर वितरण गरेको छ ।
लेजामी दि लाप्राकको समन्वयमा वडा नं. ३ उहिया, वडा नं. ४ लाप्राकका विद्यालयहरुमा स्वीटर वितरण गरिसकेको सो संस्थाले केरौँजा माध्यमिक विद्यालयमा अध्ययनरत १९६ जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको हो । संस्थाले हरेक वर्षझैँ यो वर्ष पनि विद्यार्थीहरुसँग भेटघाट गरी जाडोबाट बचाउन कोसेली स्वरुप स्वीटर वितरण गरेको केरौँजा माविका सहायक प्रधानाध्यापक कमल गुरुङले बताए ।
साथै, सोही संस्थाले निर्माण गरेको छात्रावास पनि सोही अवसरमा उद्घाटन गरिएको उनले जानकारी दिए । गणेश हिमाल एशोसिएनले लेजामी दि लाप्राकसँगको समन्वयमा हरेक वर्ष दसैँ तिहारको समय मिलाएर धार्चेका विद्यालयहरुमा पुगी विद्यार्थीहरुसँग भेटघाट गर्ने र सहयोग गर्ने गरेको उनले बताए ।
‘यो वर्ष स्वीटर वितरणसँगै होस्टल उद्घाटनको कार्यक्रम पनि सम्पन्न भयो’, उनले भने, ‘संस्थाले पहिला हाम्रो विद्यालयका लागि ८ कोठे भवन निर्माण गरिदिएको थियो । पछि पालिकाले ३ कोठा थपिदियो । भुकम्पपछि चर्किएको सो विद्यालय भवन पुनः गणेश हिमाल एशोसिएशनकै पहलमा मर्मत गरिएको छ । यही भदौमा मर्मत सम्पन्न भएको ११ कोठे भवनलाई हाल होस्टलका रुपमा परिमार्जन गरी उद्घाटन गरिएको हो ।’
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जमसिङ गुरुङको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष लक्षमण गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।




