| सोमवार, अशोज ११, २०८३

रित्तिँदै विद्यालयहरु,
आरुघाटको तीन माविमा १०० भन्दा कम विद्यार्थी

प्रतिक्षा आले मगर ।
सामुदायिक बिद्यालयमा बिद्यार्थी संख्या घट्दो छ । बिद्यार्थी नभएकै कारण कतिपय बिद्यालयहरु (बिशेष गरी आधारभूत तहसम्म संचालित) मर्ज भएका छन् । थोरै बिद्यार्थी लिएर भएपनि कतिपय बिद्यालयहरु जेनतेन संचालनमै छन् । आधारभूत तहमा मात्र होइन माध्यमिक तहमा पनि बिद्यार्थी संख्या घट्दो छ ।
आरुघाट गाउँपालिकाको तीन वटा माविको अवस्था पनि यस्तै छ । १० कक्षासम्म सञ्चालित वडा नम्वर ५ आरुआर्वाङको स्थानिका माविमा जम्मा ६३ जना मात्र बिद्यार्थी छन् । कक्षा ८, ९ र १० मा ८÷८ जना मात्र बिद्यार्थी रहेको पालिकाकी शिक्षा शाखा प्रमुख करुणा पनेरुले बताइन् ।
उनका अनुसार वडा नम्वर ६ स्थित अलैँचे माविमा ८० जना मात्र बिद्यार्थी छन् । सोही वडाको कल्लेरी स्थित इन्द्रकन्या माविमा बालबिकास सहित १०५ जना विद्यार्थी रहेको उनले जानकारी दिइन् । विद्यार्थी सङख्या कम भएपनि विद्यालय मर्ज गर्ने विषय भने चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।
‘आरुघाटमा भौगोलिक विकटता छ, वडा नम्वर ६ मै रहेको इन्द्रकन्या र अलैँचे मावि बीच डेढ घण्टाको दुरी छ’, उनले भनिन्, ‘विद्यालय भवनहरु पनि नयाँ नयाँ छन् । मर्ज गर्दा अर्को विद्यालयको भवनलाई के गर्ने ? फेरि ती क्षेत्रका विद्यार्थीहरुलाई आवतजावतमा चुनौती थपिन्छ र बीचमा पर्ने गरी नयाँ भवन बनाउन धेरै बजेट चाहिन्छ ।’ विद्यालय मर्ज गर्न नसकिए पनि दरबन्दी कटौतीको काम भने भइरहेको उनले बताइन् ।
‘विद्यालयहरुलाई मर्ज गर्न भन्दा पनि भएका विद्यालयहरुमा विद्यार्थी सङ्ख्या बढाउने र विद्यार्थी टिकाउनेतर्फ ध्यान दिनुपर्छ जस्तो लाग्छ’, उनले भनिन्, ‘यद्यपिे विद्यालय सङ्ख्या थोरै भएका विद्यालयहरुलाई समायोजन गर्ने र केहीको तह घटाउने काम भने भइरहेको छ ।’ गत वर्ष मात्र दुई वटा प्राविलाई समायोजन गरिएको र केही विद्यालयहरुको तह घटाइएको उनले जानकारी दिइन् । माध्यमिक तह संचालन गर्नका लागि ९ र १० कक्षामा बिद्यार्थी संख्या २० जना हुनुपर्ने पालिकाको मापदण्ड छ । तर ती विद्यालयहरुका लागि यो बर्ष शिक्षण सहयोग अनुदान परेकाले मावि तह संचालन गरिएको बताइएको छ ।
‘श्रोतले धानेसम्म विद्यालय मर्ज नगर्ने भनेका छौँ, विद्यालय मर्ज गर्ने विषय सजिलो छैन, कुरा मात्र उठाउँदा पनि जनसमुदायहरु आक्रोशित भएर खुकुरीसम्म लिएर आउने अवस्था छ’, पनेरुले भनिन् । केही आधारभूत र प्राथमिक बिद्यालयहरुमा पनि ६÷७ जना बिद्यार्थी राखेर संचालन गर्नुपर्ने बाध्यता रहेको उनले बताइन् । शिक्षा, स्वास्थ्य तथा रोजगारीका लागि गाउँबाट सहर बसाइँ सरेर जाने क्रम बढ्दो रहेकाले विद्यार्थी संख्या कम भएको उनको तर्क छ । ‘सक्ने त शहर बजार पसे तर नसक्ने त गाउँमै छन्, विद्यालय मर्ज भयो भने त्यस क्षेत्रका विद्यार्थीहरु थप ३–४ घण्टा हिँड्नुपर्छ त्यसैले पनि अभिभावकहरु मान्दैनन्’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्