| सोमवार, अशोज ११, २०८३

३८ बर्षमा एसईई उत्तीर्ण गरेका गुरुङ भन्छन्, ‘नपढ्दा धेरै हण्डर ठक्कर खाइयो’

धार्चे गाउँपालिका–३ खोर्लाका ३८ वर्षीय पतासिङ गुरुङले पढाई छाडेको २१ वर्षपछि पुन विद्यालयमा भर्ना भई एसईई उत्तीर्ण गरेका छन् । गुरुङले धार्चे–३ खोर्लास्थित सातकन्या माविबाट २०८० सालको एसईईमा सहभागी भई एसईई उत्तीर्ण गरेका हुन् ।
गुरुङ आफूले दोस्रो पटक मौका परीक्षा दिएर एसईई उत्तीर्ण गरेको बताउँछन् । ‘सुरुमा रिजल्ट आउँदा ४ वटा मुख्य मुख्य विषयमा नै फेल भएको थिएँ, पछि दोस्रो पटक दोहो¥याएर परीक्षा दिएँ । सबै विषय कटेछ’, उनले भने ।

उनलाई श्रीमती, बालबच्चा र बा–आमाको जिम्मेवारीसहित पढ्ने कुरा सजिलो थिएन । ‘छोराछोरी पढाउने बेला बाउ आफै स्कुल जान्छ’ भनेर छरछिमेकले कुरा काटेको पनि उनी सुन्थे । यसले उनलाई बिचलित बनाएन बरु जसरी पनि एसईई उतीर्ण गरिछाड्न जोस्यायो । आफ्नो पढाइप्रतिको दृढ इच्छाशक्तिका कारण एसईई उत्तीर्ण हुन सफल भएको उनी बताउँछन् ।

‘मजबुरीले गर्दा पहिले बीचैमा पढाइ छाडेर काम खोज्दै भारत पसियो । भारतमा ड्राइभिङ सिकेर ठुल्ठुला ट्रकहरु चलाएँ । पछि गाउँ फर्किएर माइक्रो हाइड्रोको कर्मचारी बनेर काम गरेँ । मसँग सिप त धेरै थियो नि तर, योग्यता नभएको कारण माथि जान सकिन । अहिले ढिलो वुद्धि फि¥यो, पढाइको महत्व बुझेँ । (हाँस्दै) त्यसैले छोराछोरी पढ्ने विद्यालयमा ८ कक्षामा भर्ना भएँ’, उनले भने ।

पतासिङले खोर्ला गाउँमा विद्युत महसुल संकलन गर्ने गर्दथे । विद्यालयसँगै आफ्नो जागिरलाई पनि निरन्तरता दिएका उनले हाल एसईई उत्तीर्ण भएसँगै विद्युत प्राधिकरणमा अपरेटरका रुपमा जागिर पाएका छन् ।

‘पहिला शैक्षिक योग्यता नभएर पछि परियो, त्येसैले पनि न्युनतम शैक्षिक योग्यता त चाहिन्छ भनेर फेरि २१ वर्षपछि स्कूल भर्ना भएर पढाइ सुरु गरेको हुँ’, उनले भने, ‘गाउँका युवाहरुमा पढाइ बीचैमा छाड्ने प्रवृत्ति बढ्दो छ जसले गर्दा उनीहरुले दुख पाइरहेको अवस्था छ । मैले पनि दुख पाएँ, अरुलाई त्यस्तो नहोस् जस्तो लाग्छ ।’

अब सकेसम्म ११ मा कम्प्युटर साइन्स लिएर पढ्ने इच्छा रहेको उनी बताउँछन् ।‘यही वर्ष नभए २–३ वर्षपछि भएपनि ११ मा भर्नाचाँहि हुन्छु, के गर्नु काम पनि गर्नु प¥यो । सकेसम्म कम्प्युटर साईन्स लिएर पढ्ने इच्छा छ’, उनले भने ।

पतासिङलाई ३८ वर्षको उमेरमा एसईई उत्तीर्ण गरेको भन्दै धार्चे गाउँपालिका ३ खोर्लाको सामुदायिक जनसेवाकेन्द्रले दशैंको अवसर पारेर सम्मान समेत गरेको छ । यही असोज २७ गते पालिकाका अध्यक्ष लक्षमण गुरुङले कदरपत्रसहित सम्मान गरेका हुन् । ‘सबै गाउँलेहरु भेला भए सम्मान गरे । सम्मान पाउँदा अलिअलि लाज र धेरै खुसी महसुस गरेँ’, उनले भने ।

तस्वीर स्रोतः डिलबहादुर गुरुङ, खोर्ला

प्रतिक्रिया दिनुहोस्