
सहिदलखनका ४८ विद्यालयलाई खेल सामग्री वितरण
सहिद लखन गाँउपालिकाको ४८ वटा विद्यालयहरुलाई खेल सामाग्री सहयोग गरिएको छ । एकीकरण नेपाल नामक संस्थाले विद्यालयको बालबिकास कक्षालाई लक्षित गरी इसिडी किट वितरण गरेको हो । बालकक्षा प्रभावकारी बनाउने उद्देश्यले सामग्री वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक हरि देवकोटाले बताए ।
प्लानेट इन्फ्यान्ट्स एण्ड डेभलपमेन्ट (पिईएण्डडी)फ्रान्सको आर्थिक सहयोग तथा सहिदलखन गाउँपालिकासँगको समन्वयमा विद्यालयहरुमा इसिडी किट प्रदान गरिएको उनले जानकारी दिए । वितरण गरिएको इसिडी किटमा झण्डै ३७ प्रकारको सामग्रीहरु रहेको र ती सामाग्रीहरुबाट झन्डै २०० भन्दा बढि खेल खेल्न सकिने प्लानेट कार्यक्रम सल्लाहकार बुद्धिकुमार श्रेष्ठले बताए ।
हस्तान्तरण भएको इसिडी किट प्रारम्भिक बाल बिकासको पाठ्यक्रममा आधारित भई निर्माण भएको उनले जानकारी दिए । बालबालिकाहरुको समग्र बिकासमा किटले धेरै ठुलो योगदान दिने उनको भनाइ छ । इसिडी किट खरिद, ढुवानी तथा व्यवस्थापनमा करिब १२ लाख ६५ हजार खर्च भएको संस्थाले जनाएको छ । संस्थाले विगत एक बर्षदेखि सहिदलखन गाउँपालिकामा प्रारम्भिक बाल बिकास परियोजना संचालन गर्दै आएको छ ।




