
चीन सरकारले १ अर्बमा बनाउँदै सिँजाली मावि, दशैँपछि काम सुरु हुने
मेलिना बराम ।
शहिदलख गाउँपालिका वडा नं. ४ ताक्लुङमा एकअर्ब रुपैयाँ लागतमा सिँजाली माध्यमिक विद्यालयको नयाँ संरचना बन्ने भएको छ । अत्याधुनिक सुविधासहितको सो संरचना चीन सरकारले बनाउन लागेको हो । संरचना दशैँ लगत्तै निर्माण गर्ने जानकारी आएको विद्यालयका प्रधानाध्यापक बलनारायण श्रेष्ठले जानकारी दिए ।
चीन सरकारले सम्झौता गरेको १२ वर्षपछि सिँजाली माविको अत्याधुनिक संरचना बनाउन लागेको हो । चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा आएका बेला सन् २०१३ मा नेपालका १० वटा हिमाली जिल्लामा एकेक वटा अत्याधुनिक सुविधासम्पन्न विद्यालय भवनलगायतका संरचना बनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग) सँग सम्झौता गरेको थियो ।
अनुमानित १ अर्व लगानीमा चारतले २४ कोठे भवन बन्न लागिएको सिँजाली मावि ताक्लुङका प्रधानाध्यापक बलनारायण श्रेष्ठले बताए । ‘अनुमानित बजेट करिब १ अर्ब भनिएको छ तर, हामीलाई यथार्थ रुपमा यति उति बजेट खर्च हुने बारेमा थाहा छैन । कहाँ कति खर्च लाग्छ भनेर स्टेटमेन्ट भने देखाएको छैन,’ उनले भने, ‘हामीलाई त विद्यालय बनाएर हस्तान्तरण गर्ने मात्रै हो, सबै काम चिनियाँ सरकारले नै गर्ने हो, ठेकेदार पनि उनीहरुकै, प्रविधिक इन्जिनियर पनि उनीहरुको नै हो ।’
दशैं पछि भवन निर्माणको काम सुरु हुने उनले बताए । साढेँ २ देखि ३ वर्षमा सबै संरचना निर्माण सम्पन्न हुने बताएको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए । ‘अहिले टिएलसी निर्माणको लागि काम सुरु हुदैँ छ,’ उनले भने, ‘दशैं पछि भने भवन निर्माणको काम सुरु हुने बताएको छ ।’ निर्माण हुने भनिएको भवनमा प्रत्येक तल्लामा सुविधासम्पन्न हल, कम्प्युटर ल्याब, साइन्स ल्याब, पुस्ताकालय हुने बताएको छ ।
सिँजाली माविमा हाल जाइकाको दुई कोठे भवनमा दुई वटा कक्षा, वडा नं. ४ को कार्यालय रहेको पुरानो भवनमा ४ वटा कक्षा, भूकम्पले क्षति पु¥याएको भवनमा ५ वटा कक्षा र चार वटा अस्थायी ट्रष्टमा कक्षाहरु सञ्चालमा रहेका छन् । लामो समयसम्म विद्यालय भवन नबन्दा विद्यार्थीहरु साँगुरो जस्ताको टहरोभित्र पढ्नु परेको थियो ।
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नेपाल भ्रमणमा आएको चीन सरकारको उच्चस्तरीय टोलीले १० वटा हिमाली जिल्लामा चिनियाँ विद्यालय जस्तै सुविधासम्पन्न एकेक वटा आवासीय विद्यालय भवन, प्रयोगशाला, खेलमैदान, छात्रवास लगायतका संरचना वनाउने सम्झौता गरेको थियो । विद्यालय भवन निर्माण पछि व्यवस्थापनमा भने समस्या हुने उनको भनाइ छ ।
‘भवन नबन्दा पनि समस्या छ, पठनपाठनमा समस्या हुने गरेको छ,’ उनले भने, ‘ भवन बने पछि झनै समस्या हुन्छ होला पानी, बत्तिको बिलको कुरा, उता सरसफाइ हरेक कुरामा समस्या हुन्छ ।’ विद्यालयको आन्तरिक आम्दानीको स्रोत केही नभएको उनको भनाइ छ । ‘विद्यालयमा कम्प्युटर ल्याब, साइन्स ल्याब त बन्छ, राम्रो पक्ष हो,’ उनी भन्छन्, ‘पछि केही समस्या आए यसलाई मर्मत गर्न खर्च धेरै लाग्छ, ती खर्चहरु जुटाउन पनि गाह्रो पर्छ ।’
चिनियाँ सरकारले विद्यालय निर्माण सम्पन्नपछि व्यवस्थापनका लागि कुनै रिफन्डको भने टुङ्गो नलगाएकोमा उनले गुनासो व्यक्त गरे । विद्यालय भवन बन्नु मात्रै ठूलो नभएर व्यवस्थापन राम्रो हुनु पनि जरुरी रहेको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ । कक्षा १० सम्म कक्षा सञ्चालन रहेको सिँजाली माविमा हाल २२१ जना विद्यार्थी अध्यायनरत छन् । उक्त विद्यालयमा १९ जना शिक्षक, कर्मचारी कार्यरत छन् ।




