
अजिरकोटका सामुदायिक विद्यालय कुनै मर्ज हुदैँ, कुनै तह घट्दै
विद्यार्थी संख्या न्यून भएपछि अजिरकोट गाउँपालिकाका सामुदायिक विद्यालयहरु धमाधम मर्ज हुन थालेका छन् । कुनै विद्यालयको तह घटुवा गरिएको, कुनै विद्यालय नजिकको अर्कोमा मर्जर गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिताराम पन्तले जानकारी दिए ।
वडा नम्वर ४ को शिवालय प्रावि र वडा नम्वर ३ को पार्वती प्रावि मर्ज गरिएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ । शिवालय प्राविलाई हिमालय मावि र पार्वती प्राविलाई भच्चेक माविमा मर्जर गरिएको शिक्षा शाखा प्रमुख पन्तले जानकारी दिए ।
विद्यार्थी संख्या न्यून भएपछि वडा नम्वर २ केप्रुङको भानुज्योति प्रावि पनि मर्ज हुने अवस्थामा पुगेको उनले जानकारी दिए ।
‘पहिले पाँच कक्षासम्म संचालन थियो,’ उनले भने, ‘विद्यार्थी नभएर तीन कक्षामा झा¥यौ । अहिले इसिडि कक्षा मात्र संचालन छ ।’ विद्यालयमा हाल चार जना मात्र विद्यार्थी रहेको उनले बताए । उक्त विद्यालयलाई स्यार्तान आधारभूत विद्यालय वा अपुन माध्यमिक विद्यालयमा मर्ज गरिने उनको भनाइ छ ।
विद्यार्थी नभएपछि पालिकाले केही विद्यालयहरुको तह घटाएको छ । १ देखि ५ कक्षासम्म संचालन हुदैँ आएको वडा नम्वर २ को बौद्ध हिमाली आधारभूत विद्यालयलाई तीन कक्षासम्म झारिएको बताइएको छ । सोही वडामा रहेको स्यार्तन आविको पनि तह घटाइएको छ । ‘पहिले ८ कक्षासम्म संचालन थियो, विद्यार्थी नभएर ५ मा झारियो । अहिले तीन कक्षासम्म मात्र संचालन छ,’ शिक्षा शाखा प्रमुख पन्तले भने ।
आठ कक्षासम्म संचालन हुदैँ आएको वडा नम्वर ३ को बुद्धज्योती आधारभूत विद्यालयको पनि तह घटाएर पाँच कक्षासम्म मात्र संचालन भएको उनले जानकारी दिए । उनका अनुसार वडा नम्वर ४ को कालिका प्राविको पनि तह घटाइएको छ । पाँच कक्षासम्म संचालन हुदैँ आएको उक्त विद्यालय हाल तीन कक्षासम्म मात्र संचालनमा रहेको बताइएको छ । विद्यार्थी नभएका विद्यालयलाई मर्ज गर्दै आवश्यकता अनुसार तह पनि घटाइदैँ लगेको पालिकाले जनाएको छ ।




