
विद्यालयहरुमा गुड फ्राइडे कार्यक्रम लागु गर्नेछौँ : मेयर राना
गोरखा नगरपालिकाका विद्यालयहरुमा गुड फ्राइडे कार्यक्रम लागु गर्ने तयारी गरिरहेको मेयर कृष्ण राना मगरले जनाएका छन् । शनिबार बालमन्दिर माविको ४९ औं वार्षिकोत्सवको उद्घाटन समारोहमा बोल्दै मेयर रानाले सो कार्यक्रमका लागि केही दिनभित्र सार्वजनिक सूचना जारी गरी प्रस्ताव माग गर्ने बताए ।
‘शिक्षाको उद्देश्य सैद्धान्तिक ज्ञान लिनु मात्र होइन, व्यवहारिक ज्ञान हाँसिल गर्नु र त्यसलाई व्यवहारमा लागु गर्नु पनि हो’, उनले भने, ‘त्यसैले हामीले गोरखा नगरपालिकाका विद्यालयहरुमा हरेक शुक्रबार उत्पादनमुलक कार्यक्रम गर्ने योजना बनाएका छौँ । कस्तो उत्पादनमुलक कार्यक्रम गर्ने भन्ने प्रस्ताब विद्यालयहरुले पेश गर्नेछन् ।
त्यसलाई नगरपालिकाले स्वीकृति दिएपछि लागु हुनेछ । उत्पादनलाई बिक्री गरेपछि प्राप्त आम्दानीमध्य ८० प्रतिशत विद्यार्थी स्वयंले प्राप्त गर्नेछन् । २० प्रतिशत विद्यालयले लिनेछन् ।’ सो कार्यक्रमलाई सहयोग गर्न गोरखा नगरपालिकाले चालु आर्थिकवर्ष ३० लाख रुपैयाँ विनियोजन गरेको भन्दै उनले यसले शिक्षालाई व्यवहारोपयोगी बनाउने विश्वास व्यक्त गरे ।
‘विद्यालयबाट पास आउट भइसकेपछि विद्यार्थीले कुनै न कुनै सीप प्रयोग गरी जीविका चलाउन सकोस् भन्ने हाम्रो लक्ष्य हो’, उनले भने । साथै उनले अंग्रेजी माध्यमको लोभले बालबालिका बोर्डिङतिर आकर्षित भएको भन्दै आउँदो शैक्षिक सत्रदेखि गोरखा नगरपालिकाका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ गर्न नगरपालिकाले प्रेरित गर्ने बताए ।
‘आउँदो शैक्षिकसत्रदेखि हामी जनक शिक्षा सामग्री केन्द्रद्वारा प्रकाशित अंग्रेजी माध्यमको पाठ्यपुस्तक वितरण गर्छौँ’, उनले भने, ‘अनि भौगोलिक रुपमा नजिक भएका दुईतीन वटा विद्यालयलाई एकै ठाउँमा सञ्चालन गरी मेगा विद्यालय सञ्चालन गर्नेछौँ । अहिलेका प्राय विद्यालयहरुमा एकदुईसय जना विद्यार्थीहरु मात्र रहेको पाइयो । ती विद्यालयहरुलाई एकै ठाउँमा सञ्चालन गरी विद्यार्थी संख्या पनि धेरै, पढाउने जनशक्ति पनि धेरै, प्राविधिक स्रोत साधन पनि धेरै उपलब्ध गराई मेगा विद्यालय बनाउने हाम्रो योजना छ ।’
गोरखा नगरपालिकाकाभित्रका सबै सामुदायिक विद्यालयमा साझा पोशाकको अबधारणा करिब करिब सफल भइसकेको उनको भनाइ छ । ‘शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने भन्ने नीति पनि लगभग ९० प्रतिशत सफल भएको छ । केही शिक्षकहरुले मुद्दा हालेर जिते पनि हामी हाम्रो कार्यक्रम लागु गराएरै छाड्नेछौँ’, उनले भने ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरजबहादुर मास्केको अध्यक्षतामा सम्पन्न सो वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष मास्के, गोनपा ६ का वडाअध्यक्ष राजेन्द्रकुमार जोशी, विद्यालय व्यस्थापम समितिका सदस्यहरु भक्तराम राना, सन्तोष थापा, पूर्व शिक्षक मीनादेवी श्रेष्ठ, नेपाल बाल संगठनकी पार्वती पाठक, शिक्षक शिवबहादुर थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा प्रधानाध्यापक अनन्त न्यौपानेले वार्षिक प्रगति प्रतिवेदन तथा भावी योजना प्रस्तुत गरेका थिए ।
सोही अवसरमा मेयर रानाले विद्यालयका निवर्तमान प्रधानाध्यापक शिवबहादुर थापालाई दोसल्ला ओढाई सम्मान गरेका थिए ।




