
छेउमै पाडो पालेर भाँजो हालेपछि गुरुकुल चलाउन धौ
स्थायी रुपमा भवनको व्यवस्थापन हुन नसक्दा गोरखा नगरपालिका–६ मा संचालित गोरक्षनाथ बैदिक गुरुकुल आधारभूत बिद्यालयले लामो समयदेखि अनावश्यक झन्झट खेप्दै आएको छ । बिद्यालय संचालन हुदैँ आएको छहरेस्थित गोरखा सेवा आश्रमको भवन छाड्न भन्दै आश्रम सञ्चालकबाट दवाव आउने गरेको बिद्यालयका प्रधानाध्यापक इश्वरीप्रसाद उपाध्यायले बताए ।
‘किरण श्रेष्ठ आश्रमको सचिव हुनुहँुदो रहेछ । उहाँ दिनहूँ जसो आएर भवन छाड्नुप¥यो भन्दै हैरानी दिनुहुन्छ,’ उनले भने, ‘हुदाँहुदाँ अहिले त अड्को थाप्न भवन छेउमै पाडो ल्याएर बाँधिदिनुभएको छ ।’ बिद्यालयको पठनपाठनमा असर पर्ने भन्दै पाडो नपाल्न आग्रह गर्दा वेवास्ता गरेको उनको गुनासो छ । उनका अनुसार एकजना महिलालाई रेखदेख गर्ने जिम्मा दिएर आश्रम छेउमै पाडो बाँधिएको छ ।

‘पहिले त हामीले पुजा गर्ने ठाउँ नजिकै पाडो बाँध्न लाग्नुभएको थियो, हामीले यता समस्या हुन्छ नपाल्नु भन्दा ती महिलाले मलाई यही बाँध्नु भन्नुभएको छ भनेर अटेर गर्नुभयो,’ उनले भने । केही पर सारेर बाँधेपनि पाडो कराएर पढाईमा ‘डिस्टर्व’ हुने गरेको उनले दुखेसो गरे । आश्रम नजिकै पाडो पाल्दा सरसफाइमा समेत समस्या हुने गरेको उनले गुनासो गरे ।
यता बिद्यार्थीको खेलकुद लगायतका अतिरिक्त गतिविधि संचालन गर्ने ठाउँमा समेत श्रेष्ठले ती महिलालाई खेती गर्न दिएपछि समस्या भएको बताइएको छ । ‘बिद्यार्थीहरुलाई अहिले खेलकुदका गतिविधि गराउने ठाउँ नै छैन । भएको खाली ठाउँमा कोदो लगाइदिएको छ, कपडा सुकाउने ठाउँ समेत पाएका छैनौँ,’ उनले भने । संस्थाको नाममा रहेको जग्गा व्यक्ति बिशेषलाई भोगचलन गर्न दिनु उचित नभएको उनको तर्क छ । पछिल्लो समय ती महिलाले पनि भवन छाड्नलाई दवाव दिने गरेको बिद्यालयका प्रअ उपाध्यायले बताए ।
आश्रमको भवन छाड्न भन्दै अनावश्यक दवाव दिन थालेपछि गुरुकुलले नगरपालिकालाई गुहा¥यो । नगर कार्यपालिकाको गत जेठ ३० गते बसेको बैठकले वडा नम्वर ६ ढाँडगाउँमा रहेको पृथ्वीनारायण बालबिकास प्राविको माथिल्लो तलाका दुई कोठा गुरुकुलको दिवा कक्षा संचालनका लागि दिने निर्णय ग¥यो । बिद्यार्थी नभएर हाल प्रयोगविहीन अवस्थामा रहेको उक्त भवनको रेखदेख तथा संरक्षण समेत हुने गरी उपयोग गर्न भन्दै गत असार ३० गते नगरपालिकाले गुरुकुलाई पत्राचार समेत ग¥यो ।
तर उक्त भवनको आवश्यक मर्मत नभई बस्न सक्ने अवस्था नरहेको गुरुकुलका प्रअ उपाध्याय बताउँछन् । ‘माथिल्लो तलामा कक्षा संचालन गर्नु भनेको छ, तर शौचालय तल रहेछ, भुराहरुलाई जान आउनै समस्या,’ उनले भने, ‘फेरि जंगल नजिकै छ, चितुवा आइरहने ठाउँ रहेछ, आक्रमण गर्ला भन्ने डर ।’ भवनमा रहेका बिजुलीका नाङ्गो तार, बत्ती, खानेपानीका पाइप लगायतका कुराहरु मर्मत गरेर भवन वरपर घेरावार हालेपछि मात्र बस्ने वातावरण बन्ने उनको भनाइ छ । अहिलेकै अवस्थामा उक्त भवनमा कक्षा संचालन गर्न समस्या हुने उनले जानकारी गराए ।
गुरुकुलको भवन निर्माणको प्रक्रिया पनि अघि बढेको थियो । गुरुकुलको भवन निर्माणका लागि भन्दै २०७४ सालमा स्थानीय रामजी श्रेष्ठले रानीवन नजिकै रहेको आफ्नो चार आना जग्गा गुरुकुललाई निशुल्क प्रदान गरेका थिए । भूकम्पले क्षति पुगेका बिद्यालयहरुको पुननिर्माणको क्रममा गुरुकुलको भवन बनाउने योजना परेपछि जग्गा अपुग भएपछि काम अघि बढ्न सकेन । भवनकै लागि गुरुकुलले श्रेष्ठसँग १५ लाखमा थप पाँच आना जग्गा खरिद ग¥यो । त्यो जग्गा पनि अपुग भएपछि थप १३ हात जग्गा हातको एक लाखका दरले श्रेष्ठसँग गुरुकुलले किन्यो । अन्ततः २०७५ सालमा करिव ७० लाख खर्चेर गुरुकुलको भवन बन्यो । तर भवनमा सर्ने बेला जग्गा पास गरेपछि मात्र सर्नु भन्दै जग्गाधनी श्रेष्ठले पनि भाँजो हाले । ‘हामीले उहाँलाई जग्गाको सात लाख रुपैया दिन बाँकी नै थियो, भवन बनेपछि सर्न खोजेको उहाँले जग्गा पास भएपछि मात्र सर्नु भनेर घुमाउरो पारामा बाँकी पैसा मागेपछि तत्काल सर्न सकेनौँ,’ उपाध्यायले भने ।
बिद्यालयको कुल दुई वटा भवन बनेको थियो । केही समयपछि दुई कोठे भवन पहिरोले पूर्ण रुपमा क्षति पु¥यायो । अर्काे चार कोठे भवन पहिरो जोखिममा प¥यो । जोखिम भएपछि नयाँ भवनमा सर्न डर भएको उपाध्यायले बताए । भने, ‘तल्लो भवनको तल पहिरोले खोलेको छ, कुन बेला जान्छ थाहै छैन ।’
दीर्घकालिन रुपमा स्थायी व्यवस्थापन गरिदिन गुरुकुलले आग्रह गरेको छ । बिद्यालय व्यवस्थापन समितिले भने यो समस्यामा त्यति चासो नदिएको गुरुकुलका शिक्षकहरुको गुनासो छ ।
संस्कृति तथा कर्मकाण्ड, वेद, ज्योतिष लगायतका धार्मिक नित्यकर्मसँगै सरकारले निर्धारण गरेको पाठ्यक्रम अनुसारको पढाइ हुदैँ आएको उक्त गुरुकुल २०७१ सालमा स्थापना भई २०७२ सालबाट संचालनमा आएको हो । नगरपालिकाको परम्परागत अनुदान, मुठी दान र अक्षयकोषबाट संचालन हुदैँ आएको उक्त बिद्यालयमा हाल १५ जना बिद्यार्थी आवासीय सुविधासहित अध्ययनरत छन् । तीन जना शिक्षकले अध्यापन गराउँदै आएको उक्त बिद्यालयमा गत जेठ १ गतेबाट पुल दरवन्दीको रुपमा नगरपालिकाले थप एक जना शिक्षकलाई खटाएको छ ।
हाल गुरुकुलले उपयोग गर्दै आएको आश्रमको भवन २०५५÷५६ का तत्कालिन सांसद जीवनप्रेम श्रेष्ठले सांसद बिकास कोषबाट विनियोजित रकमले बनेको हो । आश्रमको नाममा करिव चार रोपनी जग्गा खरिद गरेर भवन बनाइएको हो । लामो समयसम्म भवन प्रयोगविहीन भएपछि आश्रमकै सहमतिमा २०७२ सालबाट उक्त भवनमा गुरुकुल संचालन हुदैँ आएको हो । तर पछिल्लो समय आश्रमका सचिव श्रेष्ठले भवन छाड्न अनावश्यक दवाव दिदैँ नजिकै पाडो पाल्न दिएपछि समस्या भएको गुरुकुलले जनाएको छ ।
यता श्रेष्ठले केही दिनमा पाडो हटाइने बताए । ‘धेरै समय जमिन बाँझो बस्यो भनेर मैले खेती गर्न भनेर एउटा महिलालाई दिएको, अहिले कोदो छरेको छ, अव त्यो पाकेपछि खेती नगर भनेको छु,’ उनले भने, ‘अव पाडो पनि नपाल भनिसके ।’




