
सडक योजना कार्यालयले यो बर्ष गोरखामा १५ किलोमिटर सडक कालोपत्रे गर्ने
चालु आर्थिक बर्ष सडक योजना कार्यालय गोरखाले १५ किलोमिटर सडक कालोपत्रे गर्ने भएको छ । संघीय सरकारबाट प्राप्त रकमले सडक कालोपत्रे गर्ने सडक योजना कार्यालय गोरखाले जनाएको छ ।
रामशाहघाट मनकामना जुम्लिचौतारा तिनमाने सडक योजना अन्तरगतको खण्डमा यो बर्ष दुई किलोमिटर सडक कालोपत्रे हुने कार्यालयका इन्जिनियर गोविन्द श्रेष्ठले बताए । उक्त योजनाका लागि यो बर्ष १ करोड ६२ लाख रकम विनियोजन भएको उनले जानकारी दिए ।
‘सातदोवाटो जोगिडिही बागडाँडा पन्थिनी गाईखुर र धावा कयभन्ज्याङ सडक खण्डमा पनि यो बर्ष दुई दुई किलोमिटर सडक कालोपत्रे हुन्छ,’ उनले भने, ‘सातदोवाटो सडकका लागि १ करोड र धावा कोयाभन्ज्याङ सडकका लागि १ करोड २८ लाख रकम विनियोजन भएको छ ।’
बिमलनगर पौवाटार पालुङटार केरावारी दूधपोखरी मार्ग अन्तरगतको खण्डमा पनि यो बर्ष दुई किलोमिटर सडक कालोपत्रे हुने बताइएको छ । उक्त योजनाका लागि यो बर्ष २ करोड ६९ लाख रकम विनियोजन भएको छ ।
यता ताकुकोट हुँडीखोला सडकखण्डमा चार किलोमिटर र एघार किलो छेवेटार बारपाक सडकमा तीन किलोमिटर खण्ड कालोपत्रे हुने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडकका लागि यो बर्ष २१ करोड २४ लाख रकम विनियोजन भएको छ ।
योबर्ष दुई वटा मोटरेवल पुल पनि सम्पन्न हुने कार्यालयले जनाएको छ । बेनिघाट आरुघाट लार्के भन्ज्याङ सडकको अजुवा खोला र गोरखाको पालुङटार र लम्जुङको राइनास नगरपालिका जोड्ने चेपेखोला माथिको पुल यो बर्ष सम्पन्न हुने कार्यालयका इन्जिनियर श्रेष्ठले बताए । उनका अनुसार अजुवा खोला पुलका लागि यो बर्ष २५ लाख रकम विनियोजन भएको छ ।
गोरखाको बिभिन्न सडकका लागि चालु आव संघीय सरकारले १ अर्व ६९ करोड १९ लाख रुपैयाँ विनियोजन गरेको छ । गोरखा सडक योजना कार्यालयमार्फत कार्यान्वयन हुने गरी भने कुल १ अर्व १५ करोड ९६ लाख रकम विनियोजन भएको बताइएको छ ।




