
पाँच महिनापछि गोरखा दरबारमा बज्न थाल्यो विजय विगुल
बिगत पाँच महिनादेखि बन्द रहेको राष्ट्रनिर्माता सलामीको विजय विगुल फेरि बज्न सुरु गरेको छ । उपकरणमा आएको खराबीका कारण गत बैशाखदेखि बज्न छाडेको विजय विगुल तथा राष्ट्र निर्माता सलामी धुन गएको शनिबारदेखि बज्न थालेको नेपाली सेनाले जनाएको छ ।
गोरखा नगरपालिकाको सहयोगमा भारतबाट उपकरण झिकाएर मर्मत सम्भार भएपछि विजय विगुल तथा सलामी धुन बजाउन सुरु गरेको रिपुमर्दन गणका गणपति प्रमुख सेनानी अशोक कुमार क्षेत्रीले जानकारी दिए ।
‘एम्प्लिफायर र माइकमा समस्या भएकाले बज्न छाडेको थियो । गोरखा दरबारबाट जोडेर ल्याएको केबल बीचबीचमा सर्ट ुहने समस्या थियो’, कर्णेल क्षेत्रीले भने, ‘अहिले समस्या पत्ता लागेको छ । पत्ता लागेको समस्या समाधान गरिरहेका छौँ । केही अझै बाँकी नै छ । मर्मत गर्दै जानेछौँ ।’ केबलमा रहेको समस्या समाधान गरिरहेको भन्दै उनले अब नियमित रुपमा बज्ने बताए ।
उपकरण मर्मतखर्च गोरखा नगरपालिकासंगको सहकार्यमा व्यवस्थापन गरिने नेपाली सेनाले जनाएको छ ।
गोरखा नगरपालिका ६ ठूलोआँगनमा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक ३०१ औं पृथ्वीजयन्तीको अवसरमा गत २०७९ पुस २७ गते उद्घाटन गरी सोही दिनदेखि नियमित रुपमा राष्टनिर्माता सलामीको कार्यक्रम सुरु गरिएको थियो । बिहान सूर्योदयको समयमा र साँझ सूर्यास्तका बेला सो सालिकमा राष्ट्रनिर्माता सलामी दिन सुरु गरिएको छ । सलामीका बेला गोरखा दरबारमा माइक लगाएर बिजयी ध्वनी र बिगुल बजाउने परम्परा आरम्भ गरिएको हो ।
चैत, बैशाखमा चट्याङले खाएर बिग्रिएको उपकरण मर्मतसम्भार गरेर पुन बजाउन थालिएको गोरखा नगरपालिका ८ का वडाअध्यक्ष राजेन्द्रप्रसाद जोशी बताउँछन् । ‘एम्प्लिफायर र केवल चट्याङले खाएर बन्द भएको थियो । भारतबाट सामान झिकाएर मर्मत भएपछि सु्रु भएको छ’, उनले भने, ‘अब बिग्रियो भने पनि तत्काल मर्मतसम्भार गरेर बजाउन थाल्छौँ ।’




