
नौ बर्षमा पनि सम्पन्न भएन बारपाक सडक पिच, ठेकेदार बहाना बनाइरहने, कार्यालय म्याद थपिरहने
कालोपत्रेको काम सुरु भएको नौ बर्षमा पनि बाह्रकिलो बारपाक सडक कालोपत्रेको काम सम्पन्न भएको छैन । लोहनी एण्ड ब्रदर्श प्रालि र रसुवा इलाइट सूर्य जेभीले जिम्मा लिएको सडक खण्डमा काम अलपत्र रहेको गोरखा सडक योजना कार्यालयले जनाएको छ ।
अर्कुल बजारदेखि बालुवासम्मको ८ किलोमिटर सडक कालोपत्रेको जिम्मा लोहनी एण्ड ब्रदर्शले लिएको थियो । दुई बर्षमा काम सक्ने गरी २०७२ साल असार ३१ गते ठेक्का सम्झौता भएको थियो । हालसम्म सातौँ पटक म्याद थप भइसक्यो तर कामको प्रगति सुन्य रहेको कार्यालय प्रमुख अमिन्द्र खड्काले बताए ।
‘करिव ८० प्रतिशत मात्र काम सकेर राखेको छ,’ उनले भने, ‘केही खण्ड कालोपत्रे गर्नुपर्ने छ र कालोपत्रे भइसकेको केही खण्ड बिग्रिएकाले त्यसलाई पनि मर्मत गर्नु पर्नेछ ।’ पटक पटक म्याद थप भए पनि फिल्डमा काम नभएको उनले जानकारी दिए ।
यता वालुवादेखि बारपाकसम्मको १६ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको रसुवा इलाइट सूर्य जेभीको पनि हालसम्म सातौ पटक म्याद थप भइसक्यो । तर काम सम्पन्न भएको छैन ।
२०७३ असार ३० गते सम्झौता गरेर काम सुरु गरेको उक्त निर्माण कम्पनीले हालसम्म करिव ८८ प्रतिशत मात्र काम सकेको छ । बाँकी काम भने बिगत केही बर्षदेखि अलपत्र अवस्थामा छ । ‘यो खण्डमा पनि केही भाग कालोपत्रे गर्न बाँकी छ भने कालोपत्रे भइसकेर पनि बिग्रिएको केही भाग मर्मत गर्नुपर्ने छ,’ कार्यालय प्रमुख खड्काले भने ।
म्याद थप भइरहे पनि केही समयदेखि नै दुवै खण्डमा काम भएको छैन । ठेकेदारहरुले बर्षाको बहाना बनाउँदै काम नगर्ने गरेको खड्का बताउँछन् । ‘बर्खाको बेलामा पूर्व तयारीका कामहरु गर्न सकिन्छ नि, तर दुवै साइटमा ठेकेदारको मोविलाइजेशन भएको छैन,’ उनले भने ।
बाह्रकिलोदेखि बारपाकसम्मको कुल ४६ किलोमिटरको सडक चार खण्डमा बिभाजन गरी ठेक्का लगाइएको थियो । बाह्र किलोदेखि मसानेठाटीसम्मको चार किलोमिटर खण्ड कालोपत्रे गर्ने जिम्मा गोरखा एप्रोप्रियट फर कन्स्ट्रक्सनले पाएको हो भने निबेलदेखि अर्कुलसम्मको ५ किलोमिटर सडक कालोपत्रेको जिम्मा कन्काइ गोरखा जेभीले पाएको हो । यी दुवै खण्डमा काम सम्पन्न भइसकेको छ । तर बाँकी दुई खण्डमा भने ठेकेदारको लापरबाहीका कारण काम अलपत्र छ ।




