| बुधबार, कार्तिक २५, २०८३

छेकम्पारका प्रकाश तामाङको नागरिकता बन्ने

पत्रकार विद्या चापागाई र कमल कुमारद्वारा निर्देशित नेपाली वेब श्रृंखला ‘हेर्ने कथा’ले सार्वजनिक गरेको ‘हराएका वर्षहरू’का प्रकाश तामाङ ‘प्रका’ले नागरिकता पाउने भएका छन् । बिगत ३५ वर्षदेखि उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारमा भेडी गोठालाका रुपमा काम गरिरहेका तामाङको वास्तविक जीवनको कथा सार्वजनिक भएसँगै उनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका थिए ।
ओलीको पहलमा उनको सचिवालयले ‘हेर्ने कथा’की प्रस्तोता विद्या चापागाईंलाई सम्पर्क गरेको थियो । प्रकाशको नागरिकता बनाउने र आवश्यक थप सहयोग गर्ने विषयमा गृहसचिव एकनारायण अर्याल र चापागाईंका बीच कुराकानी भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
२०४७ सालमा करिब १० वर्षको उमेरमा काठमाडौंको जोरपाटीबाट हराएका झापाका तामाङ काम खोज्ने क्रममा छेकम्पार पुगेका थिए । भेडी गोठालाका रूपमा करिव ३५ वर्ष काम गरेका प्रकाश ‘हेर्ने कथा’को पात्रको रूपमा सार्वजनिक भएका थिए । सोही क्रममा करिब ३५ वर्षपछि उनको परिवारसँग पुनर्मिलन भएको थियो । हेर्ने कथाको उक्त भिडियो प्रधानमन्त्रीको नजरसम्म पुग्यो र अब उनको नागरिकता बन्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्