| मङ्लबार, अशोज १२, २०८३

फलोअप समाचार : इमेज इन्स्टिच्युटद्वारा धमाधम गुनासो सम्बोधन

प्रतिक्षा आलेमगर ।
जापानी भाषा सिकाउने गोरखाको इमेज इन्स्टिच्यूटले धमाधम विद्यार्थीहरुको गुनासो सम्बोधन गर्न थालेको छ । योग्यताको सक्कली प्रमाणपत्र इन्स्टिच्यूटले राखेको र आवश्यक परेका बेला माग्दा जरिबाना तिर्नुपरेको गुनासो बढेपछि इन्स्टिच्यूटले प्रमाणपत्र र रकम फिर्ता गर्न थालेको हो ।

विद्यार्थीको गुनासोपछि विद्यार्थी संगठनहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर विरोध गरेपछि र सञ्चार माध्यमहरुले सोको विषयमा समाचार प्रकाशन गरेपछि इन्स्टिच्यूटले गुनासो सम्बोधन गर्न थालेको हो । ‘पढ्नु अघि नै कक्षा शुल्क बापतको रकम (२० हजार) रुपैयाँ र सक्कली प्रमाणपत्र बुझाएको थिएँ’, मनिष बराल (नाम परिवर्तित)ले भने, ‘मैले जम्मा २ महिना मात्र पढेको थिएँ त्येसैले इन्स्टिच्युटले आज (आइतबार) २ महिना पढे बापत ६ हजार ६७० रुपैँया काटेर बाँकीको रकम र सर्टिफिकेट फिर्ता गरेको छ ।’

उनी लगायत अन्य केही विद्यार्थीहरुको पनि रकम र सर्टिफिकेट फिर्ता दिएको उनले जानकारी दिए । ‘पहिला त नपढेपछि पैसा फिर्ता दिने कुरा त परै जाओस् उल्टो आफ्नै सर्टिफिकेट फिर्ता लिन पनि थप २० हजार माग गरेको थियो’, उनले भने । आइतबार इन्स्टिच्युटले सबै विद्यार्थीहरुको सर्टिफिकेट र नपढ्नेहरुको ‘पैसा फिर्ता दिन्छौँ’ भनेको उनले बताए ।

यस्तै, अर्की विद्यार्थी सिता कुमारी (नाम परिवर्तित)ले पनि ५ दिन पढेको कटाएर बाँकीको पैसा फिर्ता लिएको बताएकी छिन् । ‘जम्मा ५ दिन मात्र पढेको थिएँ । पछि पढ्न मन लागेन, फिर्ता पैसा माग्दा हेटक्वाटरले चाँही आउँछ भन्थ्योे तर यहाँबाट चाँही मिल्दैन भनिरहेका थिए’, उनले भनिन्, ‘आइतबार संयोगबस अन्य विद्यार्थीहरु पनि आउनु भएको रहेछ, सबैले माग गर्दा सर्टिफिकेट र पैसा दुवै फिर्ता भयो ।’ पहिला आफ्नो पैसा फिर्ता माग्दा नयाँ विद्यार्थी ल्याए मात्र कमिसन बापत रकम दिने प्रलोभन देखाउने गरेको आरोप उनको छ ।

सबैजना मिलेर बिरोध गरेपछि भने संस्थाले विद्यार्थीहरुको सर्टिफिकेट र पैसा फिर्ता दिन सुरु गरेको नेपाल विद्यार्थी संघ गोरखाका अध्यक्ष शिवहरी तिमल्सिनाले जानकारी दिए । आइतबार मात्र नपढ्ने २ जनाको पढेको समयको पैसा काटेर बाँकीको पैसा फिर्ता गरेको उनले बताए । ‘अन्य विद्यार्थीहरुको पनि सर्टिफिकेट दिन्छौँ र आगामी दिनमा यस्तो काम गर्दैनौँ भनेका छन्’, उनले भने । प्रमुख जिल्ला अधिकारी भोला दहालले उक्त इन्स्टिच्युटसँग स्पष्टिकरण माग गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्