| बुधबार, कार्तिक २५, २०८३

ताकुकोटमा वडा कार्यालयको किचलो, सात वर्ष बितिसक्दा पनि कार्यालयको टुङ्गो लागेन

मेलिना बराम ।
बारपाक सुलिकोट गाउँपालिका वडा नं. ६ को वडा कार्यालय कहाँ निर्माण गर्ने भन्ने बारे सातबर्ष बितिसक्दा पनि टुंगो लाग्न सकेको छैन । स्थानीय सरकार आएको सात वर्ष बितिसक्दा पनि वडा कार्यालयको विवाद जारी छ । साबिकको गाबिस भवन रहेको ताकुकोट १ कोटथोकमा वडा कार्यालय सञ्चालन गर्नुपर्ने एकाथरीको जोड छ भने अर्काथरी पाल्खुमै सञ्चालन गर्नुपर्ने अडानमा छन् ।

२०७४ सालदेखि वडाअध्यक्ष बाबुलाल गुरुङले पाल्खुको एक घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गर्दै आएका छन् । साबिकको गाबिस भवन रहेको ताकुकोट १ कोटथोकमा वडाको नाममा एक रोपनी १० आना जग्गा रहेको वडाध्यक्ष बाबुलाल गुरुङले बताए । ‘सुरुमा गुठीको जग्गामा गाबिस भवन थियो रहेछ, द्वन्द्वकालमा ‘यताउति’ भएपछि स्कुलले पेलिदियो,’ उनले भने, ‘त्यसपछि संयन्त्र हुदाँ गाबिसको नाममा एक रोपनी १० आना जग्गा किनेर कटेज बनाएर बस्यौँ । पालिकाको निर्णय अनुसार पछि पाल्खुमा आएर घर भाडामा लिएर वडा कार्यालय सञ्चालन ग¥यौँ ।’ उनका अनुसार वडाको जग्गा माईकोट माविको कम्पान्उड भित्र पर्छ ।

विद्यालयको कम्पाउण्डभित्र पर्ने भएकाले उक्त जग्गा पनि घेराबार गरिएको छ । ‘वडाको जग्गा स्कुलको बीच भागमा पर्छ, तल माथि नै स्कुलको जग्गा पर्छ’, वडाध्यक्ष गुरुङ भन्छन्, अनि स्कुल भएकोे ठाउँमा वडा कार्यालय बनाएर कसरी सेवा सुचारु गर्ने ।’ पाल्खुमा नै वडा कार्यालय रहनु पर्नेमा वडाबासीको पनि बहुमत रहेकोे उनले बताए । वडाध्यक्ष गुरुङले भूगोलको हिसाबले भने मोहोरिया र डाँडागाउँको बीचमा वडा कार्यालय हुनु पर्ने बताए ।

जनघनत्व, बैंकिङ सुविधा, यातायात सुविधालाई मध्यनजर गर्ने हो भनी पाल्खु नै उपयुक्त हुने उनको भनाई छ । ‘साविकको ९ वटा वडामध्य १ ले कोटथोकमा नै हुनुपर्ने भनेको छ,’ उनले भने, ‘अरु बाँकी सबै साबिकका वडाबासीले भने पाल्खुमा नै राख्नु पर्ने दाबी गरेका छन् ।’ वडा कार्यालयको भवन बनाउन पाल्खुमा २४ आना जग्गा व्यवस्था गरिसकेको समेत वडाध्यक्ष गुरुङले जानकारी दिए ।

अर्को पक्ष स्थानीयले भने वडाको आफ्नै जग्गामा भवन बनाएर वडा कार्यालय सञ्चालन गर्नुपर्नेे भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । सर्वोच्च अदालतले वडा कार्यालयलाई पत्रचार गर्दै ताकुकोटमै कार्यालय सञ्चालन गर्न निर्देशन दियो । तर उक्त निर्देशन वडाले अटेर गरेपछि पुनः अदालतमा मानहानी मुद्दा प¥यो । अदालतको निर्देशन अनुसार ताकुकोटमा वडा कार्यालय सञ्चालन गर्नुको सट्टा पाल्खुकै एक सामुदायिक पुस्तकालयमा सारिएको भन्दै स्थानीयले बिरोध जनाएका स्थानीय हरि भट्टले बताए ।

स्थानीय र रिड नेपालको साझेदारीमा निर्माण भएको उक्त दुईतले ८ कोठे सामुदायिक पुस्तकालयमा जबरजस्ती वडा कार्यालय सारिएको उनको आरोप छ । जहाँ बाल कक्ष, कम्प्युटर शाखा, भजन किर्तन गर्ने ठाउँ, मिटिङ हल रहेको छ । पुस्तकालय, प्रतीक्षालयमा वडा कार्यालय सञ्चालन हुदाँ वृद्धवृद्धाहरुलाई भजनकीर्तन गर्न, सत्सङ्ग गर्न र अन्य व्यक्तिहरु पठपाठन गर्नबाट वञ्चित रहनु परेको उनले बताए । माईकोट माविसँगै वडा कार्यालयको ६ कोठे पक्की भवन रहेको उनले बताएका छन् ।

वडा कार्यालय कहाँ राख्ने भन्न्ने विवादले वडा कार्यालयको भवन निर्माणको लागि आउने बजेट पनि बर्षेनी फ्रिज हुने गरेको उनले बताए । ‘वडा कार्यालय सार्ने हो भने सबैको पायक पर्ने ठाँउमा हुनुपर्छ, नत्र भने वडाको जग्गा छ त्यहीँ यथावत रहनु पर्छ, वडा कार्यालय छदैँ छ, भवन निर्माणको लागि आउने बजेट बरु अन्य केही बिकास काममा प्रयोग गर्न पाए राम्रो हुन्छ भन्ने हो ।’

ताकुकोट सामुदायीक पुस्ताकालय तथा स्रोत केन्द्रका अध्यक्ष मोह प्रसाद पनेरुले पुस्ताकालयलाई कुनै असर नपर्ने गरी वडा कार्यालय सञ्चालनमा रहेको बताएका छन् । ‘पुस्ताकालय शिक्षा क्षेत्र भएकाले स्थानीय निकाय अन्तरगत आउँछ, पालिकाले आवश्यकता अनुसार यसलाई प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘पढ्ने कक्षा ठूलो भएकाले त्यसलाई पार्टेशन गरेर वडा कार्यालय सञ्चालन गरिएको छ, यसले पुस्ताकालयलाई केही असर गर्दैन ।’

स्थानीय सरकारले नजिकबाट पुस्तकालयको महत्व बुझोस् साथै कस्ता खालका समस्य आउँछ भन्ने जानोस् भनेर पनि पुस्ताकालयमा वडा कार्यालय सञ्चालन गर्न दिएको उनले बताए । गाउँपालिका, वडाध्यक्ष पुस्ताकालय सञ्चालन समिति तथा बुद्धिजिवीहरुको बैठक बसेर नै पुस्तकालयमा वडा कार्यालय सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।

यसअघि वडाले छुट्टै नभई पालिकाले भाडामा लिएको भवनको एउटा कोठा वडा कार्यालय सञ्चालनमा रहेको गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले बताए । ‘वडाको जग्गा स्कुलको सेरोफेरोमा भयो, वडाको छलफलमा पनि पाल्खुमा राख्ने भन्ने भयो,’ उनले भने, ‘पहिला पालिकाको भाडाको भवनमा वडा कार्यालय थियो । अहिले निशुल्क सामुदायिक पुस्तकालयबाट सेवा सुचारु गरिएको छ ।’

यसैगरी सर्वोच्व अदालतको आदेश पश्चात वडा कार्यालय स्थानान्तरण र वडा नं.६ को वडा कार्यालय भवनसँग सम्बन्धित सम्पूर्ण कार्य स्थगत गरिएको अदालतलाई पठाइएको जवाफमा उल्लेख छ । साथै भाडामा रहेको वडा कार्यालयलाई गाउँपालिकाको समेत साझेदारीमा रहेको सामुदायिक पुस्ताकालयमा निशुल्क रुपमा वडा कार्यालय सञ्चालन भई आएकोले गाउँपालिकालाई आर्थिक भार समेत हटेको दाबी गरिएको छ ।

वडाको नाममा रहेको जग्गामा जाईकाले स्कूलका लागि बनाई दिएको ४ कोठे भवन रहेको माईकोट माविका प्रधानाध्यापक रमेश सुवेदीले बताए । उक्त भवनमा विद्यालयको कम्प्युटर कक्षा र इसिडि कक्षा सञ्चालनमा रहेको थियो । विद्यालयलाई उक्त सेवा सुविधा उपलब्ध गराई दिएको खण्डमा भवन वडालाई दिने भनेर विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार पालिकामा निवेदन गरिएको उनले बताए ।

‘विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार बीचमा पार्टेशन बनाएर आधा वडा कार्यालयलाई दिने सहमति भएको थियो,’ उनले भने, ‘पालिकाले हाम्रो सहमति अनुसारको मागको सुनुवाई गरेन, त्यो त्यसै रहयो, ।’ अहिले उक्त भवनमा विद्यालयको क्यानटिन सञ्चालनमा रहेको प्रधानध्यापक सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्