| बुधबार, कार्तिक २५, २०८३

प्रशिक्षकलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकाहरु धरौटीमा रिहा

पालुङटारको गोरखा बहुप्राविधिक शिक्षालयका प्रशिक्षक आशिष रानाभाटलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकाहरु धरौटीमा रिहा भएका छन् । आइतवार उनीहरु रिहा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रयोगात्मक परीक्षामा पटक पटक फेल गराएको भन्दै यही साउन १० गते केही बिद्यार्थी समूहले रानाभाटमाथि अभद्र व्यवहार गरेका थिए ।

रानाभाटले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई गत शुक्रवार पक्राउ गरेको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा आरुघाटका श्यामहरी संग्रौला, सिरानचोकका बिकल रम्तेल, पालुङटार नगरपालिकाका अनिल थपलिया, शहीदलखन गाउँपालिकाका अविन श्रेष्ठ र गोरखा नगरपालिकाका रचन परियार रहेका थिए ।

उनीहरुमध्ये संग्रौला १५ हजार र बाँकी जनही पाँच हजार धरौटीमा रिहा भएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए । उनीहरुबिरुद्ध अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता भएको थियो । बिद्यार्थीमाथि बदनियत राखी आफूले अध्यापन गराउने बिषयको प्रयोगात्मक परीक्षामा पटक पटक फेला गराउने प्रशिक्षक रानाभाटमाथि पनि यसअघि कारवाही भइसकेको छ ।

शिक्षालय संचालक समिति र व्यवस्थापन समितिको निर्णय अनुसार उनलाई तत्कालका लागि शिक्षालयको सम्पूर्ण जिम्मेवारीबाट हटाइसकिएको छ । सिटिइभिटी र प्रशासनबाट उक्त घटनाको छुट्टाछुट्टै छानविन भइरहेको र प्रतिवेदन नआएसम्मका लागि उनलाई जिम्मेवारीबाट हटाइएको बताइएको छ । प्रतिवेदन प्राप्त भएपछि सोही अनुसार कारवाही प्रक्रिया अघि बढ्ने प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्