| बुधबार, कार्तिक २५, २०८३

आर्थिक अभावले सिसिटिभी क्यामेरा मर्मतमा समस्या

आर्थिक अभावका कारण गोरखा बजार क्षेत्रमा जडान भएका सिसिटिभी क्यामेरा मर्मत हुन सकेको छैन । जडान भएका कुल १ सय ८८ क्यामेरामध्य अहिले १ सय ३० वटा मात्र चालु छन् ।
५८ वटा क्यामेरा विगत पाँच महिनादेखि संचालनमा छैनन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आठ वटा क्यामेरा बिग्रिएका छन् भने बाँकीमा फाइवर समस्या छ । ‘फागुनदेखि यता चार पटक बनाइसक्यौं,’ जिल्ला प्रहरी प्रमुख एसपी वासुदेव पाठकले भने, ‘चट्याङ, बर्षात र हावाहुरीको समयमा बढी समस्या आउने गर्छ ।’ मर्मतका लागि आवश्यक बजेट समेत नहुने उनले बताए ।
‘हाम्रो कार्यालयसँग बजेट हुदैन, नगरपालिकाले बर्षेनी केही बजेट छ्ुट्याउने गरेको छ, तर त्यो पर्याप्त हुदैन,’ उनले भने । आगामी आर्थिक बर्ष सिसिटिभीका लागि नगरपालिकासँग १५ लाख बजेट माग गरेपनि पाँच लाख मात्र विनियोजन भएको उनले जानकारी दिए । बिग्रने समस्या बढ्न थालेपछि प्रहरी कार्यालय आफैले मर्मतका लागि जनशक्ति तयार गरेको छ । मर्मतका लागि आवश्यक सामग्री पनि खरिद गरिएको एसपी पाठकले बताए ।
‘मर्मतमा धेरै पैसा गयो भनेर जटिल बाहेकका अन्य मर्मत प्रहरी आफैले गर्छ, त्यसका लागि हामीले जनशक्ति पनि तयार गरिसक्यौं,’ उनले भने । वडा नम्वर ५ र ६ स्थित सतिपिपल क्षेत्रलाई समेटेर दश वटा सिसिटिभी क्यामेरा जडानको तयारी समेत भइरहेको उनले जानकारी दिए । वडासँगको सहकार्यमा क्यामेरा जडान गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्