| बुधबार, कार्तिक २५, २०८३

धार्चेमा ‘म बनाउँछु मेरो विद्यालय मेरो सन्ततिका लागि’ नीति पारित

धार्चे गाउँपालिकाको ‘म बनाउँछु मेरो विद्यालय मेरो सन्ततिका लागि’ नीति पारित भएको छ । आगामि आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष लक्ष्मण गुरुङले सामुदायिक विद्यालयहरुमा विद्यार्थीको सिकाई सुधार गर्न तथा गुणस्तरीय शिक्षा कायम गर्न ‘म बनाउँछु मेरो विद्यालय मेरो सन्ततिका लागि’ नीति कार्यन्वयन गर्ने बताएका छन् ।

शिक्षा तथा मानव बिकास स्रोत केन्द्र र यूनेस्को नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त नीति कार्यान्वयन गर्ने उनले बताए । विद्यार्थी संख्या तथा तहगत विद्यालय संचालनका आधारमा शिक्षक दरबन्दी मिलान तथा विद्यालय मर्ज गर्ने नीति पालिकाले लिएको छ । यस्तै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, विद्यालय सम्बद्ध पदाधिकारी, सरकारी तलब भत्ता खाने कर्मचारी तथा जनप्रतिनिधिहरुको छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने नीति पनि पालिकाले ल्याएको छ ।

पालिकाको भूगोल र विद्यालय व्यवस्थापनका लागि आवासीय छात्रबास कार्यक्रमलाई थप प्रभावकारी र आवश्यकताका आधारमा पुनर्वितरण गरिने बताइएको छ । पालिकाले संचालन गर्ने स्तर मापन परिक्षाहरु, आधारभूत तह उर्तीण परीक्षा र माध्यमिक शिक्षा परिक्षालाई थप मर्यादित र उपलब्धिमूलक बनाउन आवश्यक बजेट बिनियोजन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । दिवा खाजामा जंकफुड निषेध, विद्यालय क्षेत्रबाट १०० मिटर वरपर सुर्तिजन्य तथा मादक पदार्थ बिक्रि वितरणमा निषेध, ‘करियर काउन्सिलिङ’ र मिडिया साक्षरता कार्यक्रम संचालन गर्ने नीति पनि पालिकाले ल्याएको छ ।

घरमा सुत्केरी गराउने परम्परा अन्त्य गर्ने, संघीय सरकारको ‘पुर्ण संस्थागत सुत्केरीयुक्त पालिका’ परियोजनालाई निरन्तरता दिने, ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ अवधारण अनुरुप पालिकाभर पत्रु खाना नियन्त्रण गर्न आवश्यक सचेतना गर्ने लगायतका नीति पालिकाले ल्याएको छ । तीन वर्षभित्र ‘एक वडा एक खेल मैदान’ निर्माण गर्ने, खेलकुदसँग सम्बन्धित क्लबहरुलाई व्यवसायिकरण गर्ने, पालिका स्तरीय खेलकुद बिकास समितिलाई व्यवस्थित गर्दै धार्चे कप संचालन गर्ने पालिकाले जनाएको छ ।
पालिकामा बोलिने भाषा, कला संस्कृति, धार्मिक तथा सांस्कृतिक संरक्षण सम्बद्र्धनका लागि आवश्यक अध्ययन अनुसन्धान गरी दस्ताबेजीकरण गर्ने नीति पनि पालिकाले ल्याएको छ । पालिकामा मनाउँदै आएको मकै विवाह, घाटु नाँच, साइवा नाच, छिच्यू नाच, माने नाच, नारा पर्व, आलु महोत्सव, तमु ल्होसार र तातोपानी जात्रालाई महोत्सवका रुपमा मनाउन पर्यटन प्रवद्र्धनको नीतिलाई निरन्तरता दिने बताइएको छ ।

आगामि वर्ष पालिकाले भुमि आयोगको सहयोगमा पालिकाभित्र बसोबास गर्ने भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने निर्णय लिएको छ । जोखिम भूगोल तथा बस्ती बिकासका निम्ति एकिकृत बस्ती बिकास योजना निर्माण गर्ने नीति समेत पालिकाले ल्याएको छ ।

राजश्व संकलन कार्यलाई कडाइका साथ लागु गर्ने तथा करको दायरा फराकिलो बनाउने योजना पालिकाको छ । यसैगरी, एक वडा एक साना पकेट क्षेत्र घोषणा गरि कृषि नगद अनुदान कार्यक्रम संचालन गर्ने, गाँजा खेती, रेशम खेती, चिया खेती लगायत खेतिको सम्भाव्य अध्ययन गरिने, रेन्बो ट्राउट माछा कार्यक्रम प्रवद्र्धन गर्ने तथा कृषक परिचयपत्रको व्यवस्था गर्ने बताइएको छ ।

चट्टान आरोहण, क्यानोनिङ्ग, प्याराग्लाइडिङ्ग, भियाफतरा, माउन्टेन साइकलिङ्ग, ¥याफ्टिङ्ग, जिपफ्लायरको पूर्वाधार निर्माण कार्यथालनी गरी ३ वर्षसम्म कार्यक्रमलाई निरन्तरता दिने नीति पनि पालिकाले ल्याएको छ । यस्तै पालिकाले स्वरोजगार नीति, पुर्वाधार बिकास सम्बन्धी नीति, विद्युत तथा वैकल्पिक नीति, फोहार मैला व्यवस्थापन, वन वातावरण तथा भूसंरक्षणको नीति लगायतका नीति तथा कार्यक्रमहरु पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्