
४ जिपिए ल्याएकी आशिकाको आईटी पढ्ने धोको
प्रतीक्षा आले : बिहिबार सार्वजनिक भएको इसईई नतिजामा सेन्टमेरिज स्कूलकी आशिका थापा चार जिपिए ल्याउन सफल भइन् । गोरखा नगरपालिका वडा नं ११ ओख्लेगाउँकी आशिका चार जिपिए ल्याउने गोरखाकै एकमात्र विद्यार्थी हुन् ।
एसईईको नतिजा पनि साथीहरुबाट थाहा पाएको र चार जिपिए ल्याएको पनि साथीहरुबाट सुनेर थाहा पाएको उनी बताउँछिन् । चार जिपिए ल्याउन आफूले अतिरिक्त तागत प्रयोग नगरेको उनी बताउँछिन् । ‘मैले त चार जिपिए ल्याउने लक्ष्य राखेर परीक्षाको नजिक घुँडा धसेर पढेको पनि थिइन । सामान्य रुपमा अरु साथीहरुले जस्तै गरी पढेको थिएँ, चार जिपिए आएछ’, उनी भन्छिन्, ‘सुरुदेखि नै मन ध्यान लगाएर पढेको भएर परीक्षा राम्रो भएको थियो । चार जिपिए आएछ, खुशी लाग्यो ।’
उनी कक्षा १० को पढाइ भएको सुरुको दिन देखि नै सबै विषयहरु गहन रुपमा पढ्दै गएको बताउँछिन् । ‘मैले त कक्षा १० को पहिलो दिनदेखि नै सबै विषयवस्तुहरु पढ्दै गएकी थिएँ । त्यही भएर होला, परीक्षा पनि निकै सजिलो भयो । तर ४ जिपिए नै आउँछ भनेरचाहिँ सोचेकी थिइनँ’, उनले भनिन्, ‘म पनि अरु जस्तै साधारण विद्यार्थी नै हो ।
सुरुदेखि नै राम्ररी पढ्यो भने राम्रो नतिजा ल्याउन गाह्रो नहुने रहेछ भनेर थाहा भयो ।’ उत्कृष्ट नतिजा आउनुमा आफ्नो घरपरिवार, विद्यालय, शिक्षकहरु र साथीहरुको सहयोग र उत्प्रेरणाको भूमिका रहेको उनको भनाइ छ । ‘उत्कृष्ट नतिजा आउनु मेरो परिवार, शिक्षकहरु र साथीहरुको ठूलो हात छ’, उनले भनिन् ।
प्लस टुमा विज्ञान विषय लिएर पढ्ने योजना आशिकाको छ । ‘११ र १२ मा साइन्स लिएर पढ्ने योजना छ । अहिले त्यसैको लागि तयारी पनि गरिरहेकी छु’, उनले भनिन्, ‘त्यसपछि आईटी पढ्ने लक्ष्य छ ।’ देशमै बसेर प्रविधिको क्षेत्रमा काम गर्ने लक्ष्य रहेको थापाले सुनाइन् ।




